पर्सामा ८४ प्रतिशतमा हैजा विरुद्धको खोप
पर्सा, ३ कात्तिक – हैजा महामारीविरुद्धको खोप अभियानअन्तर्गत आइतबारसम्म पर्सा जिल्लामा ८४ प्रतिशत लक्षित जनसंख्याले मुखबाट खुवाइने खोप (औषधी) सेवन गरेका छन्। स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार असोज २६ देखि कार्तिक २ गतेसम्म सञ्चालन गरिएको अभियानमा कुल ६ लाख ५२ हजार १२९ जनालाई खोप खुवाउने लक्ष्य राखिएको थियो।
हालसम्म ५ लाख ४७ हजार ३११ जनाले खोप लिएका छन्, जसले लक्ष्यको ८४ प्रतिशत प्रतिनिधित्व गर्छ। “अझै १६ प्रतिशत लक्षित समूहले खोप लिन बाँकी छ,” ठाकुरले भन्नुभयो, “छठ पर्व सकिएपछि बाँकी समूहलाई पनि खोप खुवाइनेछ।” उहाँका अनुसार अहिलेसम्मको प्रगतिले अभियान प्रभावकारी रूपमा अघि बढेको देखिन्छ।
स्वास्थ्य कार्यालयका विवरणअनुसार वीरगञ्ज महानगरमा ८२ प्रतिशत, ठोरी गाउँपालिकामा ८६ प्रतिशत, जिराभवानीमा ७८ प्रतिशत, जगरनाथपुरमा ९४ प्रतिशत, पर्सगौलीमा ८५ प्रतिशत, सखुवा प्रसौनीमा ८९ प्रतिशत, पर्सागढीमा ८४ प्रतिशत, बहुदरमाईमा ८० प्रतिशत, पोखरियामा ८३ प्रतिशत, कालिकामाईमा ८१ प्रतिशत, धोविनीमा ८५ प्रतिशत, छिपहरमाईमा ९३ प्रतिशत, पकहाँमैनपुरमा ८० प्रतिशत र विन्दवासिनीमा ९१ प्रतिशत लक्षित समूहले हैजा विरुद्धको औषधी सेवन गरेका छन्।
प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले खोप अभियानमा सर्वसाधारणको सक्रिय सहभागिता रहेको बताउँदै अभियानलाई अझ प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ। “धान भित्र्याउने र चाडपर्वको समय भएकाले खोप अभियानलाई आवश्यक परे समय थप गरेर अघि बढाउन भनिएको छ,” उहाँले बताउनुभयो।
जनस्वास्थ्य अधिकृत ठाकुरका अनुसार एक वर्षभन्दा माथिका सबै उमेर समूहका व्यक्तिहरूलाई यो खोप खुवाइँदैछ। “मुखबाट खुवाइने यो औषधी सुरक्षित र भरपर्दो भएकाले सबैले नडराई सेवन गर्नुपर्छ,” उहाँले आग्रह गर्नुभयो। यो खोप गर्भवती तथा स्तनपान गराइरहेका महिलालाई पनि दिन सकिने जनाइएको छ। हैजा महामारी नियन्त्रणका लागि एकपटक मात्र यो खोप खुवाइनेछ।

