विदेशी नागरिकलाई अभद्र व्यवहार गरेको आरोपमा दुई जना पक्राउ
गण्डकी, ३ कात्तिक – गण्डकी प्रदेश प्रहरीले धारिलो हतियार देखाएर एक जर्मन नागरिकसँग अभद्र व्यवहार गरेको आरोपमा दुई जना युवालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार आइतबार पोखरा–२२ अनदु जंगलको सार्वजनिक स्थानमा ६७ वर्षीय जर्मन नागरिक अन्स पिटर मार्टिनसँग खुकुरी देखाई हातपात र अभद्र व्यवहार गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।
सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले घटनामा संलग्न दुई जनालाई एक थान खुकुरीसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा माछापुच्छ्रे गाउँपालिका–८ का २४ वर्षीय नविन विक र तनहुँ व्यास नगरपालिका–५ का २१ वर्षीय विशाल दर्लामी रहेका छन्।
उनीहरूविरुद्ध जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत अभद्र व्यवहार सम्बन्धी मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रवक्ता बस्नेतले जानकारी दिनुभयो।

