आजदेखि तिहार अर्थात् यमपञ्चक सुरु, आज धनतेरस, काग तिहार भाेली

काठमाडौँ, १ कात्तिक — उज्यालो र सौहार्दको पर्वका रूपमा मनाइने यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रूपमा सुरु भएको छ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिनसम्म मनाइने यो पर्व आज कार्तिक कृष्ण त्रयोदशी तिथि लागेसँगै सुरु भएको हो।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज दिउँसो १ः२३ बजेपछि त्रयोदशी तिथि प्रारम्भ भएकाले आज धनतेरस (धनत्रयोदशी) र यमदीपदान पर्व मनाइन्छ। समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार यमदीपदान आज बेलुकीदेखि सुरु हुने र काग तिहार भने आइतबार परेको हो।

समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार सायंकालमा त्रयोदशी तिथि परेका दिन धनत्रयोदशी र यमदीपदान मनाइन्छ, जबकि प्रातःकालमा त्रयोदशी परेमा काग तिहार मनाइन्छ। यमपञ्चकका अवसरमा यमदीपदान गर्नेले यमयातनाबाट मुक्ति पाउने धार्मिक विश्वास रहिआएको छ।

धनवन्तरी जयन्ती पनि आइतबारकै दिन परेको छ। तिथिको घटबढका कारण सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन मनाइने भएको समितिले जनाएको छ। कार्तिक २ गते आइतबार बिहान नरक स्नान गरी कुकुर तिहार मनाइने र बेलुकी लक्ष्मीपूजा गरिने छ। सोमबार बिहान अपामार्गसहित स्नान गर्ने चलन छ, जसलाई ‘नरक स्नान’ भनिन्छ। यो दिन नदीमा बत्ती बालेर बगाउँदा नरकको यातना भोग्न नपर्ने विश्वास छ।

कार्तिक ३ गते दिउँसो २ः५२ बजेसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा यसै दिन गर्नुपर्ने भएको हो। रातमा औँसी तिथि परेका कारण यो दिन लक्ष्मीपूजाको उपयुक्त समय मानिन्छ। कार्तिक ४ गते मङ्गलबार औँसी दिउँसो ४ः२९ बजेसम्म मात्र रहने भएकाले त्यस दिन तिहारको कुनै विशेष पर्व नपर्ने समितिले स्पष्ट पारेको छ।

कार्तिक ५ गते बुधबार गाई, गोरु र गोवद्र्धन पूजा तथा आत्म (म्ह) पूजा हुनेछ। यसै दिन नेपाल संवत् ११४६ सुरु हुनेछ। शास्त्रीय परम्पराअनुसार कार्तिक शुक्ल प्रतिपदाका दिन सूर्योदयसँगै नयाँ वर्षको आरम्भ हुने मान्यता छ। भाइटीका यस वर्ष कात्तिक ६ गते बिहीबार परेको छ।

समितिका सदस्य लक्ष्मण पन्थीका अनुसार भाइटीकाको शुभ साइत बिहान ११ः३९ बजेका लागि रहेको छ। भाइटीकाको क्रममा दाजुभाइ पश्चिम फर्केर र दिदीबहिनी पूर्व फर्केर बस्ने परम्परा छ। सर्वसाधारणका लागि भने मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् हुने समितिले जनाएको छ।

तिहारको अवसरमा राजधानीसहित देशभर झिलिमिली बत्ती बाल्ने क्रम सुरु भइसकेको छ। बत्तीको उज्यालोले शहरहरूमा उत्सवको रौनक छाएको छ। केही ठाउँमा कोजाग्रत पूर्णिमादेखि नै दीपावलीको सुरुवात गर्ने चलन बढ्दो क्रममा छ।

दसैँमा सुनसान देखिने काठमाडौँ उपत्यका तिहारमा भने झिलिमिली र देउसी–भैलोको माहोलले रमाइलो बन्छ। भैलो र देउसी खेल्ने चलन विशेषगरी लक्ष्मीपूजा र गोवद्र्धन पूजाका दिन बढी हुने गर्छ। कर्णाली र सुदूरपश्चिमका कतिपय ठाउँमा भने कोजाग्रत पूर्णिमादेखि नै देउसी–भैलो खेल्ने परम्परा रहेको छ।

यस अवसरमा कौडा, लङ्गुरबुर्जा र तासजस्ता परम्परागत खेल पनि खेल्ने चलन रहिआएको छ। नेपाल प्रहरीले भने पटाका नपड्काई सभ्य र सुरक्षित रूपमा पर्व मनाउन आह्वान गरेको छ। तिहारअघि ठूलो मात्रामा पटाका बरामद भए पनि यसपटक पनि अवैध रूपमा पड्काउने क्रम रोकिएको छैन।

Facebook Comments Box