खाल्टोको पानीमा डुबेर तीन बालिकाको मृत्यु
रौतहट, २७ साउन – रौतहटमा पानी भरिएको खाल्टोमा डुबेर तीन बालिकाको मृत्यु भएको छ। राजदेवी नगरपालिका–८ लक्ष्मीपुरका बालिकाहरू घाँस काट्न जाने क्रममा खाल्टोमा डुबेर ज्यान गुमाएका हुन्।
मृत्यु हुनेमा लक्ष्मीपुर टोलका इन्दल बैठाकी १३ वर्षीया आस्थाकुमारी बैठा, नवल यादवकी १५ वर्षीया राघनीकुमारी यादव र रुपा बैठाकी १५ वर्षीया मौसमीकुमारी बैठा रहेका जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रामकुमार महतोले जानकारी दिनुभयो।
प्रहरीका अनुसार बालिकाहरू घाँस काट्नका लागि लक्ष्मीपुरबाट गौर नगरपालिका–१ कानुपट्टीतर्फ गएका थिए। बाटो नजिकै रहेको पानीले भरिएको खाल्टो तर्ने क्रममा तीनै जना डुबेका थिए।
एकै टोलका सात जना बालिका घाँस काट्न गएका मध्ये चार जना भने सकुशल बाँच्न सफल भएका छन्। सकुशल उद्धार हुनेमा उमेश रामकी १५ वर्षीया मुस्कानकुमारी राम, विपत बैठाकी १३ वर्षीया मुस्कानकुमारी बैठा, दिनेश रामकी १० वर्षीया चन्द्रमुखीकुमारी राम र जोधन बैठाकी १५ वर्षीया सुनिताकुमारी बैठा रहेका छन्।
बेपत्ता बालिकाको खोजीका लागि भन्सार सुरक्षा गार्ड, जिल्ला प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोली परिचालन गरिएको थियो। उद्धारपछि तीनै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो।
तर चिकित्सकले परीक्षणपछि तीनै जनालाई मृत घोषणा गरेका थिए। केही दिनअघि पनि रौतहटको देवाही गोनाही नगरपालिका–५ कर्कच कर्मैयामा दुई बालिकाको पोखरीमा डुबेर मृत्यु भएको थियो।

