विभिन्न स्थानबाट लागुऔषधसहित तीन जना पक्राउ
सिरहा, २७ असोज – प्रहरीले जिल्लाको विभिन्न स्थानबाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। तीमध्ये दुई जना गोलबजार क्षेत्रबाट र एक जना माडर क्षेत्रबाट पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर पालका अनुसार, शनिबार राति करिब ११ बजे इलाका प्रहरी कार्यालय गोलबजार र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारको संयुक्त टोलीले विशेष सूचनाका आधारमा गोलबजार नगरपालिका–६, दुर्गा मन्दिरस्थित मेनचोकमा जाँच गर्दा मोटरसाइकल (प्रदेश २–०१–००१ प ३०२६) मा सवार दुई व्यक्तिबाट खैरो हिरोइनजस्तो लागुऔषध फेला पारेको थियो।
बरामद गरिएको लागुऔषधको तौल प्लास्टिकसहित १७ ग्राम ५४० मिलिग्राम र प्लास्टिक हटाएपछि १५ ग्राम शुद्ध रहेको डीएसपी पालले जानकारी दिए। उक्त घटनामा गोलबजार नगरपालिका–७ का २९ वर्षीय सुनिल साह र धनगढीमाई नगरपालिका–७ का २४ वर्षीय विष्णुदेव यादवलाई पक्राउ गरिएको छ। उनीहरू सवार मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यस्तै, सोही रात करिब ९ बजे इलाका प्रहरी कार्यालय माडरको टोलीले सिरहा नगरपालिका–१७, पटेर्वा गाउँ नजिकै गोप्य सूचनाका आधारमा छापा मार्दा लागुऔषध (गाँजा) लैजाँदै गरेको समूह प्रहरी देख्नेबित्तिकै भागेको थियो। टोलीले घटनास्थलबाट प्लास्टिकसहित ६४.९ किलोग्राम गाँजा बरामद गरेको जनाएको छ।
भाग्ने क्रममा भारतको बिहार राज्य, मधुबनी जिल्लाका ५५ वर्षीय श्रीचन मण्डललाई पक्राउ गरिएको र अन्य फरार व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। दुवै घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको डीएसपी पालले जानकारी दिए।

