वर्षाका बाबजुद नवदुर्गाको प्रसाद स्वरूप टीका–जमरा लगाउने क्रम जारी
काठमाडौँ, १८ असोज – शुक्रबार साँझदेखि लगातार भइरहेको वर्षाका बाबजुद देशभर नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा ग्रहण गर्ने क्रम निरन्तर जारी छ। विजयादशमीका दिनदेखि सुरु भएको टीका–जमरा लगाउने परम्परा कोजाग्रत पूर्णिमाका दिनसम्म, अर्थात् अखिल बलि पूर्ति नहुन्जेलसम्म चल्ने प्रचलन छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष कोजाग्रत पूर्णिमा असोज २० गते सोमबारका दिन परेको छ। नेपालीहरूले आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मका १५ दिन बडा दशैँ पर्वका रूपमा भव्य रूपमा मनाउने गर्छन्।
आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक दसैँ घर वा पूजाकोठामा घडा स्थापनासँगै सुरु हुने पूजा, विजयादशमीका दिन बिहान देवी विसर्जनपछि टीका र जमरा लगाउने क्रममा परिणत हुन्छ। नातागोता र आफन्तहरू भौगोलिक दूरी वा अन्य कारणले दूर रहेका हुनाले कोजाग्रत पूर्णिमासम्म पनि मान्यजनबाट टीका ग्रहण गर्ने परम्परा रहने गर्छ।
शास्त्रीय मान्यताअनुसार असत्यमाथि सत्यको विजयका प्रतीकका रूपमा विजया दशमी पर्व मनाइन्छ। तर, यस वर्ष विजयादशमीको भोलिपल्ट अर्थात् असोज १७ गते शुक्रबारदेखि सुरु भएको अविरल वर्षाले टाढाटाढाबाट मान्यजनकहाँ आशीर्वाद लिन जानेहरू प्रभावित भएका छन्।
भारी वर्षाका कारण सरकारले आइतबार र सोमबार (असोज १९ र २० गते) दुई दिनका लागि सार्वजनिक बिदा दिएको छ भने राजधानी प्रवेश र बाहिरिने सवारीसाधनमा अस्थायी रोक लगाइएको छ।

