विपद् जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहन गृहमन्त्रीको निर्देशन

काठमाडौँ, १७ असोज – गृहमन्त्री ओमप्रकाश अर्यालले सम्भावित विपद् जोखिम व्यवस्थापन र न्यूनीकरणका लागि सुरक्षा निकायलाई सधैं तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ।

शुक्रबार नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीको निरीक्षण भ्रमण गर्दै मन्त्री अर्यालले विपद्सम्बन्धी कृत्रिम उद्धार अभ्यास अवलोकन गर्नुका साथै आवश्यक सामग्री भण्डारण र व्यवस्थाबारे जानकारी लिनुभयो।

निरीक्षणपश्चात आयोजित कार्यक्रममा उहाँले सीमित स्रोतसाधन र तालिमको कमीका बाबजुद पनि नेपाल प्रहरीले विपद् व्यवस्थापनमा देखाएको सक्रियता प्रशंसनीय रहेको बताउनुभयो।

“जनधनको क्षति नियन्त्रण तथा न्यूनीकरणका लागि कर्तव्यनिष्ठ भई उच्च मनोबलका साथ जुनसुकै बेला पनि तत्काल परिचालन हुन सक्नेगरी तयारी अवस्थामा रहनुपर्छ,” मन्त्री अर्यालले भन्नुभयो।

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धिविक्रम शाहले धन्यवाद ज्ञापन गर्नुभयो। यस्तै, प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषकुमार भट्टराईले विपद् घटना व्यवस्थापन, प्रहरी परिचालन, मनसुन पूर्वतयारी, प्रतिकार्य योजना र भावी रणनीतिबारे प्रस्तुतीकरण गर्नुभएको थियो।

Facebook Comments Box