रैथाने इँटा बिछ्याएपछि पाटन दरबार क्षेत्र झनै आकर्षक

ललितपुर, २२ भदौ – विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पाटन दरबार क्षेत्र नयाँ रूपसहित झनै आकर्षक बनेको छ । ललितपुर महानगरपालिकाले पुरानो चाइनिज इँटा हटाएर परम्परागत रैथाने ‘तेल्या’ इँटा बिछ्याएपछि सम्पदाको मौलिकता झल्किने गरी क्षेत्र सफा र सौन्दर्यपूर्ण देखिएको हो ।

करिब रु एक करोड ५२ लाख लागतमा सम्पन्न काममा स्थानीयस्तरमै उत्पादित तेल्या इँटा प्रयोग गरिएको छ । मल्लकालदेखि प्रयोग हुँदै आएको यो परम्परागत इँटा बलियो, टिकाउ र सौन्दर्यपूर्ण मानिन्छ ।

महानगर प्रमुख चिरीबाबु महर्जनका अनुसार तत्कालीन राजा वीरेन्द्र शाहको राज्याभिषेकको समयमा बिछ्याइएको चाइनिज इँटा समयसँगै जीर्ण भएकाले नयाँ तेल्या इँटा राखिएको हो । “तेल्या इँटा बलियो मात्र नभई पानी जम्न नदिने र सफा देखिने विशेषता भएकाले सम्पदा संरक्षणका दृष्टिले उपयुक्त छ,” उहाँले भन्नुभयो ।

इँटा फेरेसँगै दरबार क्षेत्रको सतह करिब चार इञ्च उचालिएको छ । यसले वर्षायाममा पानी जम्ने समस्या न्यून गरेको महानगरले जनाएको छ । स्थानीय उपेन्द्रकुमार श्रेष्ठले यस कदमलाई अत्यन्त सकारात्मक ठहर गर्दै भन्नुभयो, “अघिसम्म क्षेत्र फोहर र जीर्ण देखिन्थ्यो, अहिले सफा, चम्किलो र सजिलो भएको छ ।”

ललितपुर महानगरले यस किसिमका कामलाई सम्पदा संरक्षणसँगै पर्यटकीय आकर्षण वृद्धि गर्ने माध्यमका रूपमा अघि सारेको छ । महानगरले आगामी दिनमा पनि पाटन दरबार क्षेत्रको मौलिकता जोगाउन प्रतिबद्धता जनाएको छ ।

Facebook Comments Box