जुम्ली किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ

जुम्ला, २० भदौ – स्याउ उत्पादनका लागि परिचित जुम्लामा अहिले किसानहरूलाई बगैँचामा स्याउ टिप्न भ्याइनभ्याइ भएको छ। सात गाउँपालिका र एक नगरपालिका सहित आठवटा स्थानीय तहका किसानले बगैँचामा परिपक्व र गुलियो स्याउ टिप्न थालेका हुन्।

तातोपानी गाउँपालिका–४ का किसान प्रेमराज पाण्डेले घरमै प्रतिकिलो रु ६५ मा बिक्री सुरु गरेको बताउँदै, यसवर्ष उत्पादन करिब ४० प्रतिशत घटेको जानकारी दिनुभयो। उहाँका अनुसार आधा मात्र बिरुवामा फल लागेको छ।

हिमा गाउँपालिकाका व्यापारी प्रकाश रोकायाका अनुसार किसानका बगैँचामा पुगेर खरिद सुरु गरिएको छ र अहिलेसम्म करिब ६०० कार्टुन स्याउ संकलन भइसकेको छ।

कृषि विकास कार्यालयका अनुसार जिल्लाभरि करिब १६ हजार मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान छ, जसबाट ४५ करोड रुपैयाँभन्दा बढी आम्दानी हुने आँकलन गरिएको छ।

जुम्लामा हाल ४,१२० हेक्टर क्षेत्रमा स्याउखेती भइरहेको छ, जसको आधाभन्दा बढी क्षेत्रमा व्यवस्थित उत्पादन भइरहेको कृषि विकास कार्यालयका निमित्त प्रमुख रामभक्त अधिकारीले जानकारी दिनुभयो। गोल्डेन, फुजी, गाला, जोनाप्रिन्स लगायतका जातसँगै जुम्ली स्थानीय जातका स्याउ बजारमा लोकप्रिय छन्।

यसैबीच, जुम्लाकोट गाउँकी महिलाहरू तरकारीखेतीमार्फत स्वरोजगार बन्न थालेका छन्। वल्र्ड भिजन इन्टरनेशनल र किर्डाक नेपालले सञ्चालन गरेको पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजनाअन्तर्गत महिलाले मौसमी र बेमौसमी तरकारीखेती गर्दै उल्लेख्य आम्दानी गरिरहेका छन्।

स्थानीय शोभा बस्नेतका अनुसार कृषक समूह र जलवायु मैत्री प्रविधिको प्रयोगले गत वर्ष मात्रै एक लाख रुपैयाँसम्म आम्दानी भएको छ। उत्पादन भएका तरकारीहरू रारासेरी बजार, नाग्म र सदरमुकाम खलङ्गासम्म पुग्ने गरेका छन्।

तरकारीखेतीबाट महिलाले आत्मनिर्भरता हासिल गर्न थाले पनि बजारसम्म ढुवानी गर्ने यातायात अभाव भने चुनौती बनेको छ। स्याउखेती र तरकारीखेती दुवैबाट जुम्लामा ग्रामीण आर्थिक गतिविधि तीव्र बनेको देखिन्छ।

Facebook Comments Box