राष्ट्रियसभाबाट निजामती सेवा विधेयक पारित
काठमाडौँ, १७ भदौ – बहुप्रतिक्षित सङ्घीय निजामती सेवा विधेयक, २०८० राष्ट्रियसभाबाट पारित भएको छ । आजको राष्ट्रियसभा बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विधेयक पारित गर्न प्रस्ताव गर्नुभएको थियो । सभाअध्यक्ष नारायणप्रसाद दाहालले उक्त प्रस्तावलाई सर्वसम्मतिले अनुमोदन भएको घोषणा गर्नुभयो ।
संवैधानिक प्रावधानअनुसार प्रतिनिधिसभाबाट सन्देशसहित आएको विधेयकलाई राष्ट्रियसभाले पारित गर्नुपर्ने अन्तिम समयसीमा आजै भएकाले यसलाई पारित गरिएको हो ।
मन्त्री न्यौपानेले छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै विधेयकले सङ्घीयताको मर्मअनुसार कर्मचारी व्यवस्थापन गर्न सहज बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “राष्ट्रियसभाले एउटा इतिहास रचेको छ । अब कर्मचारी व्यवस्थापनमा देखिएका असहजता र अन्योलताको अन्त्य हुनेछ ।”
बैठकमा सांसद गोपीबहादुर सार्की अछामी, गोपाल भट्टराई, राधेश्याम पाश्वान, पद्मबहादुर परियार, विष्णुबहादुर विश्वकर्मा, रेणु चन्द, कृष्णबहादुर रोकाया र मायाप्रसाद शर्माले धारणा राख्नुभएको थियो ।
यसअघि विधान व्यवस्थापन समिति सभापति तुलसाकुमारी दाहालले विधेयकसम्बन्धी प्रतिवेदन पेश गर्दै यसले प्रशासनिक सङ्घीयतालाई प्रभावकारी बनाउने बताउनुभएको थियो ।
उहाँका अनुसार, विधेयकले निजामती सेवाका कर्मचारीलाई व्यावसायिक, निष्ठावान् र प्रतिबद्ध बनाउन महत्त्वपूर्ण प्रावधान गरेको छ । विशेष गरी अवकाश भएको मितिले दुई वर्षसम्म अन्यत्र सेवा वा नियुक्ति लिन नपाउने व्यवस्था गरिएको छ ।
विधेयकअनुसार अब अवकाश उमेर हद क्रमशः लागू हुनेछ–
-
ऐन लागू भएको पहिलो वर्ष ५८ वर्ष
-
दोस्रो आर्थिक वर्ष ५९ वर्ष
-
तेस्रो आर्थिक वर्षदेखि ६० वर्ष
राष्ट्रियसभाबाट पारित यो विधेयक अब प्रतिनिधिसभामा पुग्नेछ । प्रतिनिधिसभाले संशोधन स्वीकार वा अस्वीकार गरेपछि प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइनेछ । राष्ट्रियसभाको अर्को बैठक भदौ २३ गते सोमबार अपराह्न १:१५ बजे बस्नेछ ।

