अन्नबाली जोगाउन किसानको मध्यरात गस्ती
मुस्ताङ, १५ भदौ – घरपझोङ गाउँपालिका–१ चिमाङ गाउँका किसानलाई हिमाली कालो भालुको आतङ्कले सास्ती बढाएपछि उनीहरू दैनिक मध्यरातसम्म खेतबारीको सुरक्षा गर्न गस्तीमा खटिन थालेका छन्। गाउँका किसानले उत्पादन गर्ने स्याउ, फापर, मकै, सिमी र तरकारीलगायतका बाली भालुले राति खेतमै पसेर नष्ट गरिदिने गरेका छन्। त्यसैले चिमाङका किसानले पाँच–पाँच जनाका सातवटा समूह बनाएर पालैपालो भालु धपाउने काम गर्दै आएका छन्।
स्थानीय सुकबहादुर विश्वकर्माका अनुसार यहाँ उवा र जौँबाहेक अन्य सबै अन्नबाली भालुको आक्रमणबाट बच्न सकेका छैनन्। घनाजङ्गलको फेदमा समुद्री सतहबाट करिब ३,००० मिटर उचाइमा रहेको गाउँमा वर्षौंदेखि वन्यजन्तु र मानवबीचको द्वन्द्व बढ्दै गएको छ।
कृषि सम्भावना प्रचुर भए पनि चिमाङका किसानलाई भालुका कारण आत्मनिर्भर कृषिउपज जोगाउन धौधौ परेको छ। घरपझोङ गाउँपालिकाले तारजाली र ग्याबिनमार्फत घेराबार निर्माण गरे पनि भालुले उक्लेर बाली नष्ट गर्न थालेपछि त्यस उपाय असफल भएको कार्यपालिका सदस्य मनि विश्वकर्माले बताउनुभयो।
भालु धपाउन जोमसोमस्थित अन्नपूर्ण संरक्षण परियोजनाले गत वर्ष साइरन जडान गरेको थियो तर त्यो पनि दीर्घकालीन समाधान बन्न सकेन। भालु नियन्त्रणका लागि एक्यापले तीन कर्मचारी राखी १ लाख ३० हजार रुपैयाँ बजेट विनियोजन गरेको भए पनि त्यो पर्याप्त नपुगेपछि किसान स्वयंले समूह बनाएर गस्ती गर्न थालेका छन्।
हालै कार्यालय प्रमुख राजेश गुप्ताका अनुसार सौर्य ऊर्जाबाट सञ्चालन हुने १,२७० मिटर लामो विद्युतीय तारजाली परीक्षणका रूपमा निर्माण गरिएको छ, जसका लागि करिब ४ लाख रुपैयाँ खर्च भएको छ। भालुको आक्रमण चिमाङ मात्र नभई थासाङ गाउँपालिकाका कुञ्जो, ताक्लुङ, छयो, झिप्रा देउराली, सौरु, सिर्खुम र नाउरिकोटलगायत गाउँमा पनि बर्सेनि दोहोरिने गरेको छ।

