गौरापर्वको तेस्रो दिन, घरघरमा गौरादेवी भित्र्याइँदै
बैतडी, १४ भदौ – सुदूरपश्चिमेलीहरूको मुख्य पर्व गौराअन्तर्गत आज तेस्रो दिन बर्तालु महिलाहरूले ‘भितरीकी गौरा’ भनेर चिनिने गौरादेवीलाई घरघरमा भित्र्याउँदै छन्। स्थानीय संस्कृतिविद् आचार्य विष्णुदत्त भट्टका अनुसार आज अमुक्ताभरण सप्तमी भएकाले बिहानै नुहाइधुवाइ गरेर साँझको समयमा गौरालाई गौराघरमा भित्र्याउने चलन रहिआएको छ। यस दिन बर्तालु महिलाहरू सामूहिक रूपमा भेला भई फाग गाएर गौरादेवीको पूजा गर्ने परम्परा छ।
‘ठूली गौरा’ को दिन गौरा र महेश्वरको प्रतिमूर्ति स्थापना गरी फलफूल र बिरुडाले पूजा गर्ने गरिन्छ। यस दिन महिलाहरूले विशेष धागो दुबधागो गौरादेवीमा अर्पण गर्छन्। साउ, अपामार्ग, तीललगायत वनस्पतिबाट गौराको प्रतिमूर्ति बनाई गौराघरमा भित्र्याउने परम्परा रहेको पण्डित जयानन्द भट्टले बताए।
साँझपख बर्तालु महिलाहरूले कुण्डस्नान गर्ने र गौरामा अर्पण गरिएको दुबधागो भोलि दुर्वाष्टमी (अठ्यावाली) का दिन धारण गर्ने चलन छ। सप्तमीलाई गौरापर्वको मुख्य दिनका रूपमा मानिन्छ भने यस दिन पूजापछि बर्तालु महिलाहरूले विशेष भोजन गर्ने परम्परा रहिआएको छ।
भोलि गौराष्टमीका दिन महिलाहरूले गौरालाई गौराघरबाट गौराखलामा लगेर पूजा गर्ने परम्परा रहेको छ। गौराको अवसरमा ढुस्को, धमारी, चैतजस्ता परम्परागत खेल पनि खेलिन्छन्। सुदूरपश्चिमेलीहरूले दशैंभन्दा पनि महत्त्वपूर्ण मान्ने यस पर्वका लागि परदेशमा रहेका परिवारजनसमेत घर फर्किने गरेका छन्।

