काठमाडौंको जडिबुटीमा स्कुटर दुर्घटना, दुई युवाको मृत्यु

काठमाडौं, १३ भदौ – राजधानीको जडिबुटीमा आज बिहान बससँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु भएको छ। प्रहरीका अनुसार बिहान करिब पौने ३ बजेतिर आकासे पुल नजिक रोकिराखेको बागमती प्रदेश ०१–००६ ख ४२४३ नम्बरको बसमा कोटेश्वरतर्फबाट जडिबुटीतर्फ जाँदै गरेको लु ४३ प ४९३८ नम्बरको स्कुटर ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा स्कुटर चालक पश्चिम नवलपरासी सुनवल नगरपालिका–१ घर भई हाल भक्तपुरको लोकन्थली बस्ने २२ वर्षीय शिरिस पौडेल र काभ्रेको पाँचखाल नगरपालिका–२ होक्से घर भएका २३ वर्षीय नितेश नेपालको मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते दुवैलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको थियो तर चिकित्सकले मृत घोषणा गरेका हुन्। सोही दुर्घटनासम्बन्धमा बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

Facebook Comments Box