सुनसरी कारागारबाट फरार कैदी झापामा पक्राउ

झापा, ३१ साउन

सुनसरी कारागारको पर्खाल नाघेर फरार भएका एक कैदीलाई झापामा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार जबर्जस्ती करणी मुद्दामा सजाय भोगिरहेका खोटाङ दिप्रुङचुचुमा गाउँपालिका–२ का २८ वर्षीय रूपक पौडेललाई बिर्तामोड नगरपालिका–१० अन्तर्गत विराटपोखर क्षेत्रबाट शनिबार बिहान नियन्त्रणमा लिइएको हो ।

गत साउन २८ गते सुनसरी कारागारबाट पौडेल भागेका थिए । विशेष सूचनाको आधारमा प्रहरी टोली खटाई खोजतलास गर्ने क्रममा उनी विराटपोखरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ परेका हुन् । सुनसरी जिल्ला अदालतले जबर्जस्ती करणी कसुरमा पौडेललाई १३ वर्ष कैद सजायसँगै पाँच लाख रुपैयाँ जरिवाना र ३० हजार रुपैयाँ क्षतिपूर्ति तिर्ने आदेश दिएको थियो ।

उनी सोही सजाय भोगिरहेका क्रममा कारागारबाट पर्खाल नाघी भागेका थिए । प्रहरीका अनुसार पक्राउ परेका पौडेललाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा पठाउने तयारी भइरहेको छ ।

Facebook Comments Box