ठूला विद्युत् र सिँचाइ आयोजना छिटो अघि बढाउनुपर्ने : ऊर्जामन्त्री खड्का

काठमाडौँ, ३० साउन – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कार्यप्रगति देखिनेगरी ठूला विद्युत् र सिँचाइ आयोजनालाई तीव्र गतिमा अघि बढाउनुपर्ने बताएका छन्।

ऊर्जा मन्त्रालयमा आज सम्पन्न वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री खड्काले बलियो सरकार भएको अवसरमा ठूला आयोजनामा दृश्यमान प्रगति देखिनु आवश्यक रहेको उल्लेख गरे। “विगतको सिकाइलाई आधार बनाएर जिम्मेवारीपूर्वक काम गर्न सके परिणाम हासिल हुन्छ, यसका लागि सबै पक्ष एकजुट हुनुपर्छ,” उनले भने।

मुलुकको अर्थतन्त्रको प्रमुख आधार ऊर्जा क्षेत्र भएको उल्लेख गर्दै उनले अन्तरनिकायीय समन्वयमार्फत यसको विकासमा जोड दिनुपर्ने बताए। साथै, बैंकमा थुप्रिएको पुँजी र विदेशी लगानीलाई ऊर्जा क्षेत्रमा आकर्षित गर्न सके देशको विकास गति तीव्र हुने विश्वास व्यक्त गरे। “एकातिर बैंकमा पैसा थुप्रिएको छ, अर्कोतर्फ विदेशी लगानीकर्ताहरू आतुर छन्, तर हामीले यो अवसर प्रयोग गर्न सकेका छैनौं,” मन्त्री खड्काले भने।

हिउँदमा हुने विद्युत् अभाव समाधानका लागि सरकारले जलाशययुक्त आयोजनालाई विशेष प्राथमिकतामा अघि बढाउने उनले जानकारी दिए।

बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य प्रा. डा. आरपी विच्छाले विगतका कमजोरी सुधार्दै आगामी दिनमा ऊर्जा तथा सिँचाइ क्षेत्रमा दीर्घकालीन नीति आवश्यक रहेको बताए। जलस्रोत तथा सिँचाइ सचिव सरीता दवाडीले वन र जग्गा प्राप्तिमा देखिएका अवरोधले आयोजना निर्माणमा ढिलाइ भएको उल्लेख गरिन्।

जल तथा ऊर्जा आयोग सचिवालयका सचिव दिनानाथ मिश्रले तयारी बिना बजेट विनियोजन हुँदा खर्च हुन नसकेको र प्रगति कमजोर देखिएको बताए। अर्थ मन्त्रालयका प्रतिनिधिले भने ऊर्जा र जलस्रोतको विकासका लागि मन्त्रालय सधैं सकारात्मक रहेको स्पष्ट पारे।

बैठकमा विद्युत् विकास विभाग, जलस्रोत तथा सिँचाइ विभाग, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका प्रमुख तथा विभिन्न कम्पनीका कार्यकारी अधिकृतहरूले आयोजना निर्माणमा देखिएका चुनौतीबारे जानकारी गराएका थिए।

Facebook Comments Box