श्रीकृष्णजन्माष्टमीमा देशभरका मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ, ३१ साउन

भाद्र कृष्ण अष्टमीका दिन मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ पर्वका अवसरमा आज बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको ठूलो भीड देखिएको छ। पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिर, कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा रहेको नवतनधाम, बूढानीलकण्ठस्थित इस्कोन मन्दिरलगायत उपत्यकाका विभिन्न मठमन्दिरमा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ।

वसन्तपुर दरबार क्षेत्र, पशुपति क्षेत्रमा रहेका कृष्णमन्दिर तथा उपत्यकाका गल्ली–चोकमा अवस्थित नारायण र लक्ष्मीनारायण मन्दिरमा पनि दर्शनार्थीको भीड बढेको छ। वैदिक सनातन धर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन, व्रत तथा रातभर जाग्राम बस्दै पर्व मनाउँछन्।

धार्मिक विश्वासअनुसार द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भगवान् श्रीकृष्णको अवतार भएकोले यस दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ। भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानवलाई रक्षा गर्दै सत्य, धर्म र सत्कर्मको मार्गमा प्रेरित गर्नुभएको उल्लेख धार्मिक ग्रन्थहरूमा पाइन्छ।

कुरुक्षेत्र युद्धका क्रममा अर्जुनलाई दिनुभएको उपदेश ‘श्रीमद्भगवतगीता’ आज विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको पवित्र ग्रन्थका रूपमा चिनिन्छ। बाल्यकालदेखि नै पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेका श्रीकृष्णका लीलासम्बन्धी प्रसङ्गलाई स्मरण गर्दै उपत्यकाका विभिन्न धार्मिक सङ्घसंस्थाले झाँकीसहित शोभायात्रा र रथयात्रा आयोजना गर्ने गरेका छन्।

कतिपय स्थानमा आजै र कतिपय स्थानमा भोलि रथयात्रा निकाल्ने परम्परा रहिआएको छ। धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार, अष्टमीको मध्यरातलाई श्रीकृष्ण जन्मोत्सवका रूपमा मनाइए पनि रथयात्रा प्रायः नवमीका दिन गर्ने प्रचलन छ।

Facebook Comments Box