भारतीय स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा वीरगञ्जमा ‘कथाकली’ नृत्य

पर्सा, २९ साउन

भारतको ७९औँ स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा बुधबार वीरगञ्जमा भारतीय कला र संस्कृतिको झल्को दिने ‘कथाकली’ नृत्य प्रदर्शन गरिएको छ। काठमाडौँस्थित भारतीय दूतावास र भारतको महावाणिज्य दूतावास वीरगञ्जको संयुक्त आयोजनामा भएको यस कार्यक्रममा दर्शकहरूलाई भारतको केरला राज्यमा लोकप्रिय महाभारत–आधारित कथाकली नृत्य प्रस्तुत गरिएको थियो।

केरलाबाट आएका नौ जना कलाकारले रंगीन पोशाक, अद्वितीय मेकअप र अभिव्यक्तिपूर्ण अभिनयमार्फत महाभारतका प्रसंगहरूलाई जीवन्त रूपमा प्रस्तुत गरे। कार्यक्रममा मधेस प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले नेपाल–भारतबीचको ऐतिहासिक सांस्कृतिक सम्बन्धबारे उल्लेख गर्दै भने,

“नेपाल र भारतबीच शताब्दीयौँदेखि रहँदै आएको सांस्कृतिक र भावनात्मक सम्बन्धलाई थप सुदृढ गर्दै आपसी सद्भाव र समझदारी कायम गर्न आवश्यक छ।” वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले दुवै देशबीचको सम्बन्धलाई अझ गहिरो बनाउनुपर्ने आवश्यकता औंल्याए।

भारतका महावाणिज्यदूत देवी सहाय मिणाले नेपाल–भारतबीचको पुरानो सामाजिक र सांस्कृतिक सम्बन्धको चर्चा गर्दै भने, “भारतीय स्वतन्त्रता आन्दोलनमा नेपालले पनि उल्लेखनीय योगदान दिएको छ। भाइचारा र सांस्कृतिक आदान–प्रदान निरन्तर हुँदै आएको छ, र यसलाई अझ प्रगाढ बनाउन भारत प्रतिबद्ध छ।” कार्यक्रम इन्डियन काउन्सिल फर कल्चरल रिलेसन (ICCR) को संयोजनमा सम्पन्न भएको हो।

Facebook Comments Box