मधेसमा ७७ प्रतिशत धान रोपाइँ, उत्पादन २७ प्रतिशत घट्ने अनुमान

धनुषाधाम, २६ साउन

खडेरीको असरका बीच मधेस प्रदेशका आठ जिल्लामा हालसम्म ७७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कृषि विकास निर्देशनालयका निर्देशक जितेन्द्र यादवका अनुसार, बारामा ९५ प्रतिशतसहित सबैभन्दा बढी रोपाइँ भएको छ भने महोत्तरीमा ६१.५ प्रतिशतमा सीमित भएको छ।

प्रदेशको पाँच लाख ४२ हजार ५८१ हेक्टर खेतीयोग्य क्षेत्रमध्ये तीन लाख ७२ हजार ६४५ हेक्टरमा धान खेती हुने गरेकामा हालसम्म दुई लाख ८५ हजार ३३५ हेक्टरमा मात्र रोपाइँ भएको छ। पर्याप्त वर्षा नभए पनि बोरिङ तथा नहरमार्फत सिँचाइ गरेर रोपाइँको क्षेत्रफल बढाइएको यादवले बताए। गण्डक नहर (बारा, पर्सा), कोशी (सप्तरी) र बागमती (सर्लाही, रौतहट)बाट किसानले सिँचाइ गर्न पाएका छन्। तर, धनुषामा कमला नदी सुक्दा रोपाइँमा कठिनाइ भएको छ।

यो वर्ष प्रदेशमा अधिकतम ८० प्रतिशतसम्म रोपाइँ हुने अनुमान गरिएको छ। ढिलो रोपाइँका कारण कुल धान उत्पादनमा करिब २७ प्रतिशत कमी आउने निर्देशक यादवको आकलन छ। सुक्खा र खडेरी प्रभावित किसानलाई राहतस्वरूप भूमिगत सिँचाइ व्यवस्थापन सहयोग कार्यक्रम अन्तर्गत प्रदेश सरकारले योजना ल्याएपछि हालसम्म २२ हजार ५२ किसानले आवेदन दिएका छन्।

मुख्यमन्त्री सतिशकुमार सिंहका अनुसार, प्रदेश सरकारले यसका लागि १८ करोड रुपैयाँ छुट्याएको भए पनि आवश्यकता पूरा गर्न पर्याप्त छैन। सिँचाइ सहयोगका लागि प्रदेश सरकार संघीय निर्णयको पर्खाइमा रहेको उनले बताएका छन्।

Facebook Comments Box