मुख्यमन्त्री बानियाँलाई मत दिन कांग्रेसको ह्वीप

मकवानपुर, २५ साउन

नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलले दलका नेता तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा शनिबार काठमाडौँमा बसेको बैठकबाट विभिन्न निर्णय गरेको छ। बैठकले नेपालको संविधानको धारा १६८(४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३(१) अनुसार बाग्मती प्रदेशसभाको बैठकमा विश्वासको मत प्रस्ताव पेश गर्ने निर्णय गरेको हो। यसका लागि प्रदेशसभाको बैठक यही साउन २७ गते मङ्गलबार दिउँसो ४ बजे बस्ने गरी आह्वान गरिएको छ।

बैठकमा आफ्ना सदस्यहरूलाई अनिवार्य रूपमा उपस्थित हुन, तटस्थ नबस्न र विश्वासको मतको पक्षमा मतदान गर्न नेपाली कांग्रेस संसदीय दलको विधान २०७४ को धारा १२(६) बमोजिम ह्वीप जारी गरिएको छ। त्यस्तै, बैठकले संसदीय दल कार्यसमिति गठन गरेको छ।

यसमा प्रदेश सदस्यहरू श्रीराम लामिछाने, सुना परियार, मीनकृष्ण महर्जन, सुरजचन्द्र लामिछाने र नेपाली कांग्रेस बाग्मती प्रदेश समितिका महामन्त्रीद्वय राजु श्रेष्ठ तथा कन्चनचन्द्र बादे सदस्य रहेका छन्। साथै, बैठकले तीन सदस्यीय अनुशासन समिति गठन गरेको छ, जसमा छिरिङदोर्जे लामा, बिनु रायमाझी पौडेल र सुरजचन्द्र लामिछाने रहेका छन्।

Facebook Comments Box