तनहुँमा चितुवा आक्रमण पीडित परिवारलाई १ करोड ६० लाख क्षतिपूर्ति
तनहुँ, २५ साउन
वन्यजन्तु (चितुवा) आक्रमणमा परी ज्यान गुमाएका तनहुँका १६ बालबालिकाका परिवारलाई डिभिजन वन कार्यालयले क्षतिपूर्तिस्वरूप १ करोड ६० लाख रुपैयाँ प्रदान गरेको छ। प्रत्येक परिवारलाई १० लाख रुपैयाँका दरले रकम हस्तान्तरण गरिएको हो।
वन अधिकृत तथा सूचना अधिकारी राजकुमार श्रेष्ठका अनुसार नियमअनुसार वन्यजन्तुको आक्रमणबाट मृत्यु भएमा १० लाख रुपैयाँ क्षतिपूर्ति दिइन्छ। यस्तै, घाइते भएका २१ जनालाई उपचार खर्चका लागि ९ लाख ४५ हजार ५२६ रुपैयाँ वितरण गरिएको छ।
विसं २०७४ फागुन ९ देखि हालसम्मको आठ वर्षको अवधिमा तनहुँका विभिन्न स्थानमा चितुवाको आक्रमणबाट ११ बालक र ५ बालिकाको मृत्यु भएको छ।
चितुवा आतङ्क बढेपछि जिल्लाका ८ स्थानमा चितुवा नियन्त्रणका लागि खोर राखिएको छ। पछिल्लो समय बन्दीपुर क्षेत्र बढी प्रभावित देखिएकाले त्यहाँ पासो राखिएको कार्यालयले जनाएको छ। साथै, बन्दीपुरका पाँच सामुदायिक विद्यालय र सार्वजनिक स्थलमा “चितुवाको आक्रमणबाट कसरी बच्ने” भन्ने सचेतनामूलक होर्डिङ बोर्डसमेत जडान गरिएको छ।
चितुवाको आक्रमणबाट भानु नगरपालिका सबैभन्दा धेरै प्रभावित भएको छ। मृत्यु हुनेमा बन्दीपुर, व्यास, भानु, शुक्लागण्डकी, आँबुखैरेनीका बालबालिका रहेका छन्। वन अधिकृत नवीन विश्वकर्माका अनुसार हालसम्म २० स्थानमा पासो राखिएको छ। एक पटक आक्रमण भएको स्थानमा चितुवाले पुनः आक्रमण गर्ने सम्भावना बढी हुने भएकाले त्यही क्षेत्रमा नियन्त्रणका प्रयास गरिन्छ।

