बस्तीमाथि पहिरो जाँदा भोजपुरको पाँचधारे बजार जोखिममा

भोजपुर, १८ साउन – भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कस्थित पाँचधारे बजार पहिरोको उच्च जोखिममा परेको छ। बजारमाथिको डाँडामा जमिन चिरा परेर पहिरो जान थालेपछि बस्ती खतरा सामना गर्न बाध्य भएको हो। स्थानीय वडाध्यक्ष नभराज माङ्गपाहाङ्गका अनुसार, पहिरोको सुरुवात बजारको माथिल्लो भागमा ढुङ्गा उत्खनन भएपछि देखिएको हो।

उहाँले बताएअनुसार डाँडामा गरिएको उत्खननका कारण जमिन चर्किएर बिस्तारै पहिरो सर्न थालेको छ। “पाँचधारे बजार पहिरोको जोखिमा परेको छ,” वडाध्यक्ष माङ्गपाहाङ्गले भन्नुभयो, “अहिले नै पहिरो चलिरहेको छ, र यदि ठूलो वर्षा भयो भने बस्ती नै खतरामा पर्न सक्छ।”

उहाँका अनुसार पहिरोको सिधा प्रभावमा परेका कम्तीमा आठ घर उच्च जोखिममा छन्। यद्यपि जोखिमसम्बन्धी जानकारी र प्रहरी मुचुल्कासहितको विवरण सम्बन्धित निकायमा पठाए पनि हालसम्म कुनै प्रतिक्रिया आएको छैन।

हाल जमिन चिरिएको ठाउँमा पनि सानोतिनो पहिरो लगातार आइरहेको वडाध्यक्षले जानकारी दिनुभयो। उहाँले समयमा रोकथाम तथा व्यवस्थापन नगरे ठूलो क्षति हुन सक्ने चेतावनी दिनुभएको छ। स्थानीयवासीले समयमै हस्तक्षेप नभए बस्ती विस्थापित हुनसक्ने चिन्ता व्यक्त गरेका छन्।

Facebook Comments Box