पानीको स्रोत खोज्दै वीरगञ्ज महानगर

वीरगञ्ज (पर्सा), १६ साउन – वीरगञ्ज महानगरपालिकामा दिनप्रतिदिन चर्कँदो खानेपानी समस्याको समाधानका लागि पानीको नयाँ स्रोत खोज्न राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति र वीरगञ्ज महानगरको प्राविधिक टोलीले बाराको अमलेखगञ्जमा स्थलगत निरीक्षण गरेको छ।

टोलीमा समितिका अध्यक्ष डा. किरण पौडेल, वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंह, इञ्जिनियर तथा सरोकारवाला निकायका पदाधिकारी सहभागी थिए। अमलेखगञ्जको भावर क्षेत्रमा भूगर्भीय तहमा पानी संरक्षण गरेर सञ्चालनमा रहेको कर्मकुमारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अभ्यासलाई अध्ययन गर्ने उद्देश्यसहित निरीक्षण गरिएको हो।

प्रमुख सिंहले वीरगञ्जका अधिकांश चापाकल सुक्दै गएकाले पानीको सतह पुनःभरण गरी दीर्घकालीन समाधानको खोजीमा लागेको बताए। “अमलेखगञ्जमा जस्तै संरचना निर्माण गरेर पानीको सतह बढाउन सकिन्छ कि भनेर अध्ययन गर्न आएका हौं,” उनले भने।

कर्मकुमारी उपभोक्ता समितिका अध्यक्ष नारायण लामिछाने मगरका अनुसार भावर क्षेत्रको संरक्षणबाट अमलेखगञ्जमा अहिले दैनिक २४ लाख लिटर पानी वितरण हुँदै आएको छ। करिब तीन मिटर गहिराइको सतहमा रहेको पानीलाई सञ्चित गरी ट्याङ्कीमार्फत आठ सय २७ घरधुरीमा पानी आपूर्ति भइरहेको उनले जानकारी दिए।

राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति चितवनका इञ्जिनियर अनिल सिन्हाले भावर क्षेत्रमा पोखरी लगायत संरचना बनाएर पानीको सतहमा वृद्धि गर्न सकिने बताए। उनका अनुसार पर्सा जिल्लाको भेडाहा खोलाको भावर क्षेत्रमा पनि संरक्षण संरचना निर्माण गरेर पानी आपूर्ति सम्भव छ।

समितिका अध्यक्ष डा. पौडेलले वीरगञ्जको भूगर्भीय पानीको सतह बढाउन पोखरी, रिचार्ज पिटजस्ता संरचना निर्माण आवश्यक रहेको बताए। निरीक्षणमा सहभागी ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले दुई सम्भावित स्रोतमा स्थलगत अवलोकन गरिएको जानकारी दिए। महानगरले खानेपानी समस्याको दीर्घकालीन समाधानको प्रयासस्वरूप अमलेखगञ्जको सफल अभ्यासबाट सिकेर आवश्यक योजना अघि बढाउने जनाएको छ।

Facebook Comments Box