विदेशी डाइटरी सप्लिमेन्टको आयातले स्वदेशी उद्योग दबाबमा
पर्सा, ८ साउन – नेपालमा विदेशी आहारपूरक (डाइटरी सप्लिमेन्ट)को बढ्दो आयातले स्वदेशी उद्योगहरू समस्यामा परेका छन्। स्थानीय उद्योगीहरूका अनुसार जथाभावी रूपमा भित्रिने आयातित सामग्रीसँग प्रतिस्पर्धा गर्न नसक्दा स्वदेशी उत्पादनमा संकट गहिरिँदै गएको छ।
बारा–पर्सा औद्योगिक करिडोरस्थित जयश्री हेल्थकेयर आहारपूरक उद्योग सञ्चालनमा ल्याएका उद्योगी साकेत क्यालले रु ४० करोडको लगानी गरेर उत्पादन सुरु गरे पनि बजारमा विदेशी उत्पादनको प्रभुत्व, सरकारी सहयोगको अभाव, र कमजोर नियमनका कारण उद्योग सञ्चालनमा कठिनाइ भएको बताउनुभयो।
उहाँले भन्नुभयो, “गुणस्तरहीन सप्लिमेन्टहरू स्वीकृतिबिना बजारमा भित्रिँदा उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्ने खतरा छ। त्यसमाथि नियामक निकायसँग पर्याप्त जनशक्ति नभएकाले नियन्त्रण पनि चुनौतीपूर्ण भएको छ।” खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग डाइटरी सप्लिमेन्टको नियमन गर्ने निकाय हो, तर विभागको सीमित स्रोत साधनका कारण प्रभावकारी निगरानी र समन्वय हुन नसकेको बताइएको छ।
क्यालका अनुसार आयात हुने धेरै उत्पादन दर्ताविना वा स्वीकृतिबिना नै भित्रिने गरेका छन्, जसले गर्दा स्वदेशी उत्पादनलाई बजारमा स्थान बनाउन गाह्रो भएको छ। उहाँले आवश्यक कानुनी व्यवस्था गरेर आयातलाई व्यवस्थित बनाउन जोड दिनुभयो।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले स्वदेशी उद्योगको संरक्षण र प्रवर्द्धनका लागि नीतिगत सुधार आवश्यक भएको बताउँदै भन्नुभयो, “औद्योगिक प्रक्रियामा आउने कानुनी र प्रशासनिक झन्झट हटाइनुपर्छ, अनि मात्र उद्योग बढ्न सक्छ।”
हाल जयश्री हेल्थकेयर उद्योगले ५० जना नेपालीलाई रोजगारी दिएको छ। ३१ हजार वर्गफिटमा फैलिएको उद्योगबाट ४० प्रकारका डाइटरी सप्लिमेन्ट उत्पादन हुँदै आएका छन्। गएको आर्थिक वर्षमा मात्रै उक्त उद्योगले रु ६० लाख बराबरको उत्पादन बिक्री गरेको जनाएको छ।
उद्योगीहरूको भनाइमा, सरकारले औषधि उद्योगलाई जस्तो छुट आहारपूरक उद्योगलाई पनि दिनुपर्ने आवश्यकता छ। हाल आहारपूरक सामग्रीमा २०–४० प्रतिशतसम्म भन्सार महसुल र मूल्य अभिवृद्धि कर (VAT) लाग्ने गरेकाले यसलाई एक प्रतिशतमा झार्नुपर्ने माग उठाइएको छ।
क्यालले निष्कर्षमा भन्नुभयो, “गत वर्ष मात्रै नेपालमा करिब रु १.५ अर्ब बराबरको डाइटरी सप्लिमेन्ट आयात भयो। स्वदेशी उद्योगलाई प्रोत्साहन गरिए यो रकम स्वदेशमै लगानी भएर रोजगारी र आयात प्रतिस्थापनमा ठूलो योगदान गर्न सकिन्छ।”

