‘अकबरे खुर्सानी’ले किसानको जीवनशैली बदल्दै
भोजपुर, ८ साउन – भोजपुरका किसानका लागि ‘अकबरे खुर्सानी’ (डल्ले खुर्सानी) अहिले स्थायी आम्दानीको भरपर्दो स्रोत बनेको छ। व्यावसायिक रूपमा खेती विस्तार हुँदै गएसँगै किसानको जीवनशैलीमा परिवर्तन देखिन थालेको छ।
स्थानीय बजारमा अकबरे खुर्सानी प्रतिकेजी रु २०० देखि ४०० सम्ममा बिक्री हुने गरेको छ। कृषक कमला थापाले खुर्सानी खेतीबाट परिवारको खर्च धान्न सहज भएको बताउँदै यसको माग पनि उच्च रहेको बताउनुभयो। नभराज फुयाल नामका अर्का कृषकका अनुसार बजारमा कुनै समस्या छैन, किनभने ठेकेदारहरू सिधै बारीमै आएर खरिद गर्छन्। “बोखिम क्षेत्रका अधिकांश किसानको मुख्य आम्दानीको स्रोत नै अब अकबरे खुर्सानी भएको छ,” उहाँले भन्नुभयो।
भोजपुरको पौवादुङमा गाउँपालिका अन्तर्गतको भूगोलमा सबैभन्दा धेरै अकबरे खुर्सानीको खेती हुँदै आएको छ। पालिकाले किसानलाई प्रोत्साहन दिने कार्यक्रम सञ्चालन गरेसँगै करीब ५ सय हेक्टर क्षेत्रफलमा व्यावसायिक खेती विस्तार भएको हो। कृषि शाखा प्रमुख बर्तेन्द्र राईका अनुसार अहिले समग्र पालिकाभर ९ सयभन्दा बढी कृषक अकबरे खुर्सानी खेतीमा संलग्न छन्।
पौवादुङमा–४ बास्तिमका किसान ध्रुव राईले गत वर्ष १२ रोपनी जमिनमा खुर्सानी खेतीबाट रु ५ लाख आम्दानी लिनुभएको थियो। अहिले खेती २० रोपनीमा विस्तार गर्नुभएको छ, र रु ८ देखि १० लाख आम्दानीको लक्ष्य राख्नुभएको छ।
कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार गत आर्थिक वर्षमा ६ सय हेक्टर क्षेत्रमा खेती गरिएको अकबरे खुर्सानीको मूल्य करिब रु २५ करोड बराबरको रहेको थियो। केन्द्र प्रमुख मुकेशकुमार यादवका अनुसार चालु वर्षमा ६०९ हेक्टर क्षेत्रमा खेती भइरहेको छ र यदि रोग तथा कीराको प्रकोप नियन्त्रित गर्न सकिएमा रु २८–२९ करोड बराबरको उत्पादन हुने अनुमान गरिएको छ।
भोजपुर नगरपालिका, अरुण गाउँपालिका लगायत अन्य क्षेत्रहरूमा पनि खुर्सानी खेती फैलिँदै गएको छ। यहाँबाट उत्पादन भएको खुर्सानी ठेकेदारमार्फत धरान, इटहरी, विराटनगर, झापा, विर्तामोड, काठमाडौँसम्म पु¥याइने गरिएको छ।
‘अकबरे खुर्सानी’ केवल एक मसला नभई भोजपुरका किसानको समृद्धिको माध्यम बन्दै गएको छ। यथोचित नीति, प्रविधि र बजारको सुनिश्चितता भएमा यो क्षेत्र राष्ट्रिय स्तरमै महत्त्वपूर्ण आयात प्रतिस्थापन तथा निर्यातजन्य उत्पादन बन्ने सम्भावना राख्दछ।

