उत्पादित विद्युत् अब खेर जाने छैन : ऊर्जामन्त्री खड्का

काठमाडौँ, ५ साउन – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अब प्रसारण लाइनको अभावका कारण उत्पादित विद्युत् खेर जाने अवस्था नरहने स्पष्ट गर्नुभएको छ।

पश्चिम सेती कोरिडोरमा जलविद्युत् विकास र ४०० केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि आज मन्त्रालयमा सम्पन्न बहुपक्षीय समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा मन्त्री खड्काले भन्नुभयो,

“ऊर्जा क्षेत्रमा आशा जगाउने यस समझदारीले प्रसारण संरचनाको अभाव पूर्ति गर्छ। यसले उत्पादन भएको विद्युत् खेर जान नदिनेछ। निजी क्षेत्रलाई उत्पादन र बिक्री गर्न सहज वातावरण बनाउनेतर्फ सरकारले काम गरिरहेको छ।”

उहाँले आन्तरिक खपतसँगै बढी विद्युत् विदेशमा बिक्री गर्न निजी क्षेत्रका लागि अनुकूल वातावरण निर्माण भइरहेको पनि बताउनुभयो।

समझदारी अनुसार, बझाङ–निलेगडा–दोधारा ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माणका साथै उक्त लाइनमा जोडिने तीन जलविद्युत् आयोजना—

  • चैनपुर सेती (२१० मेगावाट)

  • सेती नदी–३ (८७ मेगावाट)

  • बझाङ माथिल्लो सेती (२१६ मेगावाट)

— को निर्माण, वित्तीय स्रोत परिचालन र सञ्चालनमा बहुपक्षीय सहकार्य हुने भएको छ।

यसका लागि हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड, चैनपुर सेती जलविद्युत् कम्पनी लिमिटेड, चिलिमे सेती हाइड्रोपावर कम्पनी लिमिटेड र समृद्धि इनर्जी लिमिटेड बीच समझदारी भएको हो।

कार्यक्रममा ऊर्जा सचिव सुरेश आचार्यले यस्तो साझेदारीबाट प्रणालीगत सुधार ल्याउने र राष्ट्रिय ऊर्जा क्षमतालाई प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “निजी तथा सरकारी साझेदारी अपरिहार्य भएको छ। ऊर्जा सुरक्षाको दिशामा यो कदम कोसेढुङ्गा सावित हुनेछ।”

सम्झदारीमा समावेश अधिकांश आयोजनाले निर्माण अनुमति, वातावरणीय प्रभाव मूल्याङ्कन, विद्युत् खरिद सम्झौता (PPA), ग्रिड जडान तथा लगानी स्वीकृतिका चरण पार गरिसकेका छन्। साथै प्रसारण लाइनसम्बन्धी अध्ययन, डिजाइन र जग्गा अधिग्रहण कार्यहरू पनि सम्पन्न भइसकेको छ।

Facebook Comments Box