वन्यजन्तुको आतंकले अन्नबाली छाडे, पाल्पामा टिमुरखेतीमा आकर्षण

तानसेन (पाल्पा), ३२ असार – बाँदर र बदेलजस्ता वन्यजन्तुबाट अन्नबाली जोगाउन नसकेपछि पाल्पाका किसानहरू टिमुरखेतीतर्फ आकर्षित भएका छन्। वनसँग सटिएका गाउँका किसानहरूले मकै, कोदो, गहुँलगायत बाली नष्ट भएपछि विकल्पका रूपमा टिमुर खेती थालेका हुन्। रैनादेवी छहरा गाउँपालिका–४, सत्यवतीकी गीता घर्ती भन्छिन्, “हरेक वर्ष मकै लगाउँथेँ, तर बाली भित्र्याउने बेलासम्म बाँदरले सखाप पार्थ्यो।

अब टिमुर लगाउँदा नबिग्रिने मात्र हैन, आम्दानी पनि राम्रो हुने देखेपछि यही खेतीमा लागेकी हुँ।” अहिले उनले आफ्नै बारीमा ५० टिमुरका बिरुवा लगाएकी छन्। वन्यजन्तुको आक्रमणका कारण अन्नबाली छाडेर टिमुरखेतीतर्फ मोडिएका किसानहरू सत्यवती, जुठापौवा, बल्डेङ्गगढी, रिब्दीकोट, पालुङमैनादी, कुसुमखोला, छहरा, फेकलगायत स्थानमा रहेका छन्।

रिब्दीकोट गाउँपालिका, ठिमुरे ढुस्टुङका बुद्धबहादुर राना भन्छन्, “पहिला बारीको छेउछाउ टिमुर लगाउँदा मानिसहरू हाँस्थे। अहिले सबै बारी ढाक्ने गरी टिमुर रोप्न थालेका छन्।” बारी, ढिक, खोरिया र वन क्षेत्रमै फैलिएको टिमुरखेतीले अहिले २,००० भन्दा बढी किसानलाई प्रत्यक्ष लाभ पुगेको छ।

रिब्दीकोटका अर्का किसान शिवबहादुर जिसीले भने, चार वर्षअघि बाँझो जमिनमा लगाएको टिमुरले अहिले वार्षिक रु २ लाख आम्दानी दिइरहेको बताए। असारको अन्तिम सातादेखि असोज–कात्तिकसम्मको बिक्रीबाट यहाँका किसानहरू रु १ देखि ३ लाखसम्म आम्दानी गरिरहेका छन्।

टिमुरको प्रयोग अचार, मसला र औषधिजन्य वस्तुहरूमा हुने भएकाले पछिल्लो समय सहरी क्षेत्रमा यसको माग उच्च छ। बजारमा मूल्य राम्रो पाइने भएकाले किसानहरू थप उत्साहित देखिएका छन्। डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईका अनुसार बाँदरले अन्य बालीमा क्षति पुर्‍याए पनि टिमुर बाली भने सुरक्षित रहने भएकाले यो दीर्घकालीन रूपमा सुरक्षित र फाइदाजनक विकल्प हो।

“एकपटक लगाएको टिमुरको बोट वर्षौँसम्म उत्पादन दिन्छ,” भट्टराईले भन्नुभयो, “अहिले पूर्वखोला, निस्दी र अन्य स्थानमा टिमुर पकेट क्षेत्र विकास भइरहेको छ। वन कार्यालयबाट किसानलाई बिरुवा वितरणसमेत गरिँदै आएको छ।”

Facebook Comments Box