म्याग्दीका चार ठाउँमा रु ३ करोड ६५ लाखको नदी नियन्त्रण योजना सम्पन्न

म्याग्दी, २८ असार – म्याग्दी जिल्लाका चार स्थानमा रु ३ करोड ६५ लाखको लागतमा नदी नियन्त्रण योजना सम्पन्न गरिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, पोखराले बाढी र नदी कटानबाट हुने जोखिम न्यूनीकरणका लागि तटबन्ध तथा कम्पोजिट पर्खाल निर्माण गरेको हो।

आयोजनाका इञ्जिनियर नरजङ गुरुङका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा दरवाङ, तातोपानी, सिंगा र लामगरामा नदी नियन्त्रणका संरचना निर्माण गरिएका हुन्।

मुख्य संरचनाहरू
बेनी नगरपालिका–४, सिंगा तातोपानीस्थित सरस्वती माविको पछाडिको म्याग्दी नदी किनारमा ६६ मिटर लामो, चार मिटर चौडाइ र तीन मिटर उचाइको कङ्क्रिट र ग्यावियन पर्खाल निर्माण गरिएको छ। रु २ करोड ७० लाख लागत अनुमान गरिएको यस योजनाको ठेक्का साहाना–बिआरटी जेभीसँग रु १ करोड ५५ लाखमा भएको थियो। कम्पनीले बर्खा सुरु हुनुअघि नै निर्माण कार्य सम्पन्न गरेको हो।

त्यस्तै, मालिका गाउँपालिका केन्द्र दरवाङमा २६ मिटर लामो कम्पोजिट प्रविधिको पर्खाल निर्माण गरिएको छ भने बेनी नगरपालिका–४ सिंगा र वडा नं १ लामगरामा क्रमशः १५०–१५० मिटर लामो ग्यावियन पर्खाल निर्माण गरिएको छ।
यी तीन योजनामा सरकारबाट छुट्याइएको रु ७०–७० लाख बजेटमार्फत उपभोक्ता समितिमार्फत निर्माण कार्य सम्पन्न भएको हो।

लामगरामा बनाइएको ग्यावियन पर्खालको तारजालीलाई खिया लाग्न नदिन ‘ज्याकेटिङ’ प्लास्टर गरिएको छ। उपभोक्ता समिति अध्यक्ष कमल थापाका अनुसार तटबन्धपछि बस्ती, खेतीयोग्य जमिन र रत्नेचौर लिफ्ट खानेपानी योजनाको इनार सुरक्षित भएको छ।

नयाँ योजनाहरूमा ठेक्का सम्झौता
आयोजनामार्फत चालु वर्ष थप चार ठाउँमा नदी नियन्त्रणका संरचना निर्माण गर्न रु ९ करोड ७५ लाख बराबरको ठेक्का सम्झौता भएको छ।

  • सिंगा तातोपानी बजारको संरक्षणका लागि १०२ मिटर लामो कम्पोजिट पर्खाल बनाउन आरआरसी जेभीसँग रु २ करोड ७१ लाखको सम्झौता भएको छ।

  • बेनी दरवाङ बसपार्क क्षेत्रमा १६५ मिटर पर्खाल निर्माणका लागि रुपल–सुप्रिम जेभीसँग रु ४ करोड २१ लाख ५९ हजारको ठेक्का गरिएको छ।

  • रघुगङ्गा–३ स्थित गायत्री मन्दिरको संरक्षणका लागि ५० मिटर पर्खाल निर्माणका लागि गुरुङ बाजे मण्डली जेभीसँग रु ७४ लाखको सम्झौता भएको छ।

  • बेनीको कालीपुल पारिको बगरफाँट क्षेत्रमा ८० मिटर कङ्क्रिट पर्खाल निर्माणका लागि साहाना–गोपी जेभीसँग रु २ करोड ९ लाख ५९ हजारको सम्झौता गरिएको छ।

आयोजना प्रमुख बिदुरमान श्रेष्ठका अनुसार चालु आर्थिक वर्षमा सम्झौता भइसकेका योजना आगामी वर्षमा निर्माण सम्पन्न गरिनेछ।
नदी नियन्त्रण योजनामा तीव्रता आएपछि तटीय बस्तीका बासिन्दाहरू सुरक्षित महसुस गर्न थालेका छन्।

Facebook Comments Box