अरनिको राजमार्ग विस्तारः धुलिखेल–साँगा खण्डमा काम वर्षा र स्थानीय अवरोधले रोकियो
काभ्रेपलाञ्चोक, १९ असार – अरनिको राजमार्गको स्तरोन्नति अन्तर्गत धुलिखेल–साँगा सडकखण्डमा भइरहेको विस्तार कार्य मनसुनको वर्षा र स्थानीय अवरोधका कारण रोकिएको छ। वर्षा रोकिएपछि मात्र निर्माण कार्य पुनः सुरु हुने सडक विभागको सूर्यविनायक–धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ।
विशेषतः धुलिखेल क्षेत्रको एक किलोमिटर मुख्य सडक कालोपत्र गरिएको भए पनि मनसुन सक्रिय भएपछि थप काम अघि बढ्न सकेको छैन। बनेपाबाट जनागालतर्फको एक किलोमिटर सडक पनि कालोपत्र हुन बाँकी रहेको इञ्जिनियर विष्णुप्रसाद खनालले जानकारी दिनुभयो।
खनालका अनुसार, बनेपा क्षेत्रमा करिब ५० वटा विजुलीका पोल हटाउनुपर्ने र २८ किलोमा एक घर हटाउनु पर्ने प्रक्रिया पनि रोकिएको छ। यस्तै, चण्डेश्वरी खोलादेखि बनेपाको चारदोबाटोसम्मको करिब एक किलोमिटर डल निर्माण पनि वर्षाका कारण ठप्प भएको छ।
यसबीच, पुलबजार क्षेत्रमा सेन्टर लाइनको विषयमा उत्पन्न विवादले सडक विस्तार कार्य थप जटिल बनेको छ। सडकको दायाँबायाँ ७५–७५ फिट (कुल १५० फिट) मापदण्डअनुसार विस्तार भइरहेकाेमा स्थानीयले दुईतर्फी बराबरी छुट्याउनुपर्ने माग गर्दै निर्माण कार्यमा अवरोध पुर्याउँदै आएका छन्। चार महिनादेखि सो क्षेत्रमा कार्य पूर्ण रूपमा रोकिएको छ।
सडक डिजाइनअनुसार केन्द्रबाट बराबर छुट्याउने प्रक्रियामा स्थानीयले असहमति जनाएपछि समस्या झनै जटिल बनेको हो। पटकपटक सरोकारवाला निकाय र स्थानीयबीच छलफल भए पनि समाधान हुन नसकेको खनालले बताउनुभयो। मापदण्डभित्रका घर–टहरा हटाउने, विद्युत पोल, अप्टिकल फाइबर र हाइटेन्सन लाइन स्थानान्तरणजस्ता कार्य अवरुद्ध भएका छन्।
यसैबीच, सूर्यबिनायकदेखि धुलिखेलसम्मको १६ किलोमिटर लम्बाइको राजमार्ग छ लेनमा विस्तार गर्ने लक्ष्य निर्धारित समयमा पूरा नहुने निश्चित जस्तै भएको छ। वि.सं. २०७९ पुस २४ गते सुरु भएको उक्त आयोजना ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य थियो।
दुई खण्डमा विभाजन गरिएको सो आयोजनामध्ये पहिलो खण्ड साँगा–धुलिखेल (८.४ किमी) का लागि रु ४ अर्ब ५ करोड ६४ लाख र दोस्रो खण्ड सूर्यबिनायक–साँगा (७.६ किमी) का लागि रु ३ अर्ब ८८ करोड ९३ लाखको ठेक्का सम्झौता भएको थियो।
हालसम्म दुवै खण्डमा गरी झण्डै ५० प्रतिशत मात्रै काम सम्पन्न भएको जानकारी दिँदै आयोजना प्रमुख तथा सूचना अधिकारी सजना अधिकारीले भौतिक संरचना, मापदण्डभित्रका संरचनाको ढिलासुस्ती र समयमै पूर्वतयारी पूरा नहुँदा निर्माण कार्यमा ढिलाइ भएको बताउनुभयो। उहाँका अनुसार, निर्धारित समयसीमासम्म करिब ६५ प्रतिशत भौतिक निर्माण सम्पन्न हुने अनुमान गरिएको छ।

