देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं, १८ असार – देशभर मनसुनी वायुले प्रभाव जमाएको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण आज देशभर सामान्यदेखि पूर्ण बदली रहने र धेरैजसो स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी क्षेत्रका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षा हुन सक्नेछ। त्यसैगरी, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
भारी वर्षाको मापदण्ड अनुसार, २४ घण्टामा ५० देखि १०० मिलिमिटर वर्षा भएमा त्यो भारी वर्षा मानिन्छ। साथै, आज देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात समेत हुन सक्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।

