चितवनमा बन्ने पहिलो ‘परियार समुदायको सङ्ग्रहालय’
भरतपुर, १८ असार — चितवनको भरतपुर महानगरपालिका–२२, पटिहानीमा ‘परियार समुदायको सङ्ग्रहालय’ निर्माण थालिएको छ। नेपालमै पहिलोपटक परियार समुदायको सांस्कृतिक, पेशागत र ऐतिहासिक सम्पदा संरक्षण गर्ने उद्देश्यले यो सङ्ग्रहालय निर्माण हुन लागेको हो।
सङ्ग्रहालयको निर्माण परियार एकता समाज चितवनको अगुवाइमा हुँदैछ। समाजका अध्यक्ष सुरज परियारका अनुसार करिब रु दुई करोडको लागतमा निर्माण गरिने सङ्ग्रहालयको डिपीसी कार्य हाल भरतपुर महानगरपालिकाको सहयोगमा सम्पन्न भइसकेको छ।
चार तले भवनमा सभा हल, पञ्चेबाजा तालिम केन्द्र, पुराना बाजा र परम्परागत वस्तुको प्रदर्शनी, तथा पोसाक र सिलाइसम्बन्धी सामग्रीको संरक्षण कक्ष रहनेछन्। सुरज परियारले भन्नुभयो, “नयाँ पुस्तालाई परम्परागत पेसाबारे जानकारी छैन। यो सङ्ग्रहालय अध्ययन र संरक्षण दुवैका लागि उपयोगी हुने छ।”
परियार समुदायका थरहरूमा दर्जी, सूचीकार, नगर्ची, ढोली, हुड्केली लगायत पर्दछन्। उनीहरूको मुख्य पेसा विवाह, पूजा, जात्रा जस्ता अवसरमा पञ्चेबाजा बजाउने, साथै सिलाइकटाइ गर्ने रहँदै आएको छ। समाजका अर्का अगुवा शेरबहादुर परियारका अनुसार “आज परियार समुदायले अपनाएको पेसा अरू समुदायले सिकेका छन्, तर आफ्नै सन्तानमा भने यो ज्ञान हराउँदै गएको छ।”
उनले चिन्ता व्यक्त गर्दै भने, “यदि अब संरक्षण गरिएन भने केही दशकमै हाम्रो पेसा र पहिचान लोप हुने खतरा छ।” त्यसैले, समुदायको संस्कृति, सीप र पहिचान जोगाउन सङ्ग्रहालय निर्माण अपरिहार्य भएको उनको भनाइ छ। भरतपुर महानगरपालिकाले यसका लागि आवश्यक जग्गा उपलब्ध गराएको छ भने हालसम्म रु १० लाख सहयोग प्रदान गरिसकेको छ। बाँकी रकम प्रदेश सरकार, संघसंस्था तथा व्यक्तिहरूको सहयोगबाट संकलन गरिने योजना छ।
सङ्ग्रहालय निर्माण तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। कोषाध्यक्ष डिल्लीबहादुर परियारका अनुसार, “सङ्ग्रहालयलाई परियार समुदायको सांस्कृतिक अध्ययन केन्द्रको रूपमा विकास गर्दै पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने योजना बनाएका छौँ।” नेपालभर परियार समुदायको जनसंख्या करिब ६ लाख रहेको अनुमान छ।

