आज देशभर पानी पर्ने पूर्वानुमान, एक–दुई स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना
काठमाडौँ, १६ असार – देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको मौसमविद्हरूले जनाएका छन्। हाल मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही उत्तरतर्फ सरेर पश्चिम नेपालको नजिक रहेकोले देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश पहाडी भू–भागहरूमा तथा बाँकी क्षेत्रका केही स्थानहरूमा आज दिनभर मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै, सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा तथा अन्य प्रदेशका पहाडी भागहरूमा एक–दुई स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको चेतावनी दिइएको छ।
देशका उच्च–पहाडी तथा हिमाली भू–भागमा केही स्थानमा हल्कादेखि मध्यम वर्षा वा हिमपात पनि हुन सक्ने अनुमान गरिएको छ। आज राति पनि देशभर सामान्य बदली रहनेछ। कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ भने बाँकी भू–भागका थोरै स्थानमा पनि वर्षा हुनसक्ने उल्लेख गरिएको छ।
कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको केही स्थानमा रातिको समयमा पनि भारी वर्षाको सम्भावना रहँदा सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।

