मानव–हात्ती द्वन्द्व: १५ वर्षमा ७२ को ज्यान, २५ हात्तीको मृत्यु
झापा, १३ असार – झापामा पछिल्लो १५ वर्षको अवधिमा मानव–हात्ती द्वन्द्वका कारण ७२ जनाले ज्यान गुमाएका छन्, जसमध्ये ७ जना विदेशी नागरिक थिए। २०६७ सालदेखि हालसम्म ९२ जना घाइते भएका छन्। डिभिजन वन कार्यालय, झापाका अनुसार चालु आर्थिक वर्ष (२०८१ साउनदेखि) मात्रै हात्तीको आक्रमणमा ५ जनाको मृत्यु र ६ जना घाइते भएका छन्। तथ्याङ्कले औसतमा प्रति वर्ष पाँच जनाको मृत्यु हुने देखिएको छ।
यसै अवधिमा २५ वटा हात्तीको पनि मृत्यु भएको छ। डिभिजन वन कार्यालयका डा. सुमन भलका अनुसार, हालसालै हात्ती मृत फेला पर्ने दर बढ्दो छ। चालु आर्थिक वर्षमा मात्रै ४ वटा हात्ती मृत फेला परेका छन्। मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि विद्युतीय तारवार, जैविकमार्ग, वनमा पोखरी निर्माण, फलफूलका बिरुवा रोपण, गस्तीलगायत उपायहरू अपनाइएका छन्। तर, ‘फरेष्ट एक्सन नेपाल’का डा. लिलानाथ शर्माका अनुसार तारवार मात्रै पर्याप्त छैन।
उनको भनाइमा, “वन सुधार र हात्तीमैत्री वातावरण निर्माण बिना द्वन्द्व न्यूनीकरण सम्भव छैन।” हात्तीको आहाराको खोजीमा जङ्गल बाहिरिने प्रवृत्ति रहेकोले जङ्गलभित्रै आहाराको व्यवस्था गर्नुपर्नेमा विज्ञको जोड छ। वन अतिक्रमण र मानव बस्तीको जङ्गल नजिक विस्तारले पनि द्वन्द्व बढेको बताइएको छ। विशेष गरी मकैको सिजनमा भारतबाट हात्तीको हुल आउने गरेको वन कार्यालयले जनाएको छ।
सरकारले २०६८/६९ देखि हालसम्म झापाका पीडितलाई रु ९ करोड ६८ लाख ४७ हजार राहत वितरण गरिसकेको छ। मृतकका परिवारलाई जनही रु १० लाख, घाइतेलाई अधिकतम रु २ लाख, र अन्य क्षतिको आधारमा क्षतिपूर्ति दिइने डिभिजन वन कार्यालयले जनाएको छ। यद्यपि, ५२५ जना वन्यजन्तु पीडित अझै राहत पर्खाइमा छन्।

