चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु

म्याग्दी, ९ असार – म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माण गरिएको ३७.५ मेगावाट क्षमताको चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनाले परीक्षण उत्पादन सुरु गरेको छ। तुदी पावर कम्पनी लिमिटेडको प्रवर्द्धनमा निर्माण भएको यस आयोजनाले बाँध, डिसेन्डर (पानी थिग्य्राउने पोखरी), सुरुङ र अन्य संरचनाको परीक्षण कार्य सम्पन्न गरी विद्युत् उत्पादन थालेको हो।

कम्पनीका प्रतिनिधि इन्द्र ढकालका अनुसार परीक्षण सफल भएपछि आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण प्रणालीमा जोडिनेछ। परीक्षण कार्य आगामी १५ दिनभित्र सम्पन्न हुने अपेक्षा गरिएको छ। आयोजनाअन्तर्गत रघुगङ्गा गाउँपालिका–८ स्थित बन्दीमा बाँध र त्यहीं ११० मिटर लामो, ८ मिटर अग्लो तथा ३० मिटर चौडाइको डिसेन्डर निर्माण गरिएको छ।

त्यहाँबाट ५.३ किलोमिटर लामो सुरुङमार्फत ल्याइएको पानी रघुगङ्गा–७ चिमखोलाको बगरस्थित विद्युतगृहमा पठाइन्छ। सो स्थानमा ९५० मिटर लामो पेनस्टक पाइप लाइन निर्माण गरिएको छ। आयोजनाको आउटलेट उचाइ ३६० मिटर रहेको छ। वि.सं. २०७७ मङ्सिरदेखि निर्माण सुरु भएको यस आयोजनाको सिभिल ठेकेदार रामेछाप शेर्पा र साउथ एसियन इन्फ्रास्ट्रक्चर प्रालि हुन्। चारवटा स्थानबाट सुरुङ खनिएको थियो।

हाइड्रोमेकानिकल कामको जिम्मा माछापुच्छ्रे र बीएमईडब्लु नेपाल, र इलेक्ट्रोमेकानिकल काम एभरेष्ट हाइड्रोले लिएका छन्। विद्युतगृहबाट राहुघाट जलविद्युत् आयोजना (रघुगङ्गा–३, तिल्केनीचौर) स्थित स्वीचयार्डसम्म १४ किलोमिटर दूरीमा २२० केभी क्षमताको प्रसारण लाइन निर्माण गरिएको छ, जसमा ४९ वटा टावर छन्।

उत्पादित विद्युत् २२० केभी दाना–कुश्मा प्रसारण लाइनमा ‘लूप इन–लूप आउट (LILO)’ प्रविधिमार्फत जोडिनेछ। तुदी पावरकै प्रवर्द्धनमा निर्माणाधीन ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना हाल निर्माणको अन्तिम चरणमा छ। यसको अनुमानित लागत १४ अर्ब रुपैयाँ रहेको छ।

चिमखोला–मङ्गले–राहुघाट आयोजना राहुघाट नदी बेसिनमा सम्पन्न भएको पहिलो जलविद्युत् आयोजना हो। सोही नदीमा ४० मेगावाटको राहुघाट, २१.३ मेगावाटको ठूलोखोला, तथा २२.३ मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना पनि निर्माण सम्पन्नको चरणमा रहेका छन्।

Facebook Comments Box