कृषकको माग अनुसार रासायनिक मल आपूर्ति नहुँदा काभ्रेका किसान मर्कामा

काभ्रेपलाञ्चोक, ५ असार  – काभ्रेपलाञ्चोकमा कृषकको मागअनुसार रासायनिक मल आपूर्ति हुन नसकेको छ। वर्षेनी मल अभाव झेल्दै आएका कृषकहरू यस वर्ष पनि मकै तथा तरकारी उत्पादनका लागि आवश्यक मल नपाएर समस्यामा परेका छन्।

कृषि सामग्री कम्पनी लिमिटेड धुलिखेलका प्रमुख योगेन्द्रकुमार पराजुलीका अनुसार, कृषकको युरिया मलको माग पूरा गर्न नसकिने अवस्था छ। “प्रदेशबाट प्राप्त कोटाबाट काभ्रेले जम्मा १७.५ प्रतिशत मल पाउँछ,” उहाँले बताउनुभयो, “यसले वास्तविक आवश्यकता पुरा गर्न सक्दैन।”

कम्पनीले चालु आर्थिक वर्षका लागि १३ हजार ९०० मेट्रिक टन मल माग गरे पनि केन्द्रबाट मात्र ९ हजार मेट्रिक टन स्वीकृत भएको हो। हालसम्म काभ्रेमा ५,७०४ मेट्रिक टन युरिया, २,८७८ मेट्रिक टन डिएपी र २६० मेट्रिक टन पोटास मल वितरण भइसकेको छ। बाँकी मल आउने क्रम जारी रहेको कम्पनीले जनाएको छ।

युरिया मलको माग उच्च
साल्ट ट्रेडिङ कर्पोरेशन बनेपाका शाखा प्रमुख ईश्वर आचार्यका अनुसार, “दैनिक २० भन्दा बढी सहकारी संस्थाले युरिया मलको माग गरिरहेका छन्।” उहाँका अनुसार, पाँच सयभन्दा बढी सहकारी संस्थाले आफूहरूले उपलब्ध गराएको मल तुरुन्त लैजाने अवस्थासमेत रहेको छ।

कृषक कालोबजारमा मल किन्न बाध्य
मूल्य रु १,००० पर्ने युरिया मल कृषकले रु २,३०० देखि रु २,५०० सम्ममा किन्न बाध्य भएको बताइएको छ। पाँचखालका एक अगुवा कृषकका अनुसार, “पहिला महँगोमा मल किन्न बनेपा र धुलिखेल जानुपर्ने अवस्था थियो, अहिले पाँचखालमै महँगोमा पाइन्छ।”

सरकारी बेवास्तप्रति गुनासो
कृषकहरूले ‘ब्ल्याक’मा बिक्री हुने मलको अनुगमन र नियन्त्रणमा सरकार गम्भीर नहुनुमा गुनासो गरेका छन्। कोटा प्रणाली लागू भएपछि काभ्रेपलाञ्चोकमा मल आपूर्तिमा करिब ४० प्रतिशतको कमी आएको कृषि सामग्री कम्पनीले जनाएको छ।

यसैबीच, कम्पनीले आगामी वर्षका लागि १०,५०० मेट्रिक टन युरिया, ८,५०० मेट्रिक टन डिएपी र ५०० मेट्रिक टन पोटास मल आपूर्तिको योजना बनाएको छ।

Facebook Comments Box