वीरगञ्जमा रातको समयमा नाली सरसफाइ अभियान तीव्र
वीरगञ्ज (पर्सा), ३ असार – मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जमा दिन मात्र होइन, रातको समयमा पनि नाली सरसफाइ अभियान सञ्चालन भइरहेको छ। विशेष गरी दिनमा ट्राफिक जाम अत्यधिक हुने क्षेत्रहरूमा लक्षित गर्दै रातको समयमा पनि सफाइ कार्य तीव्र बनाइएको हो।
महानगरले सोमबार राति जिल्ला प्रशासन कार्यालयको प्राङ्गणसँगै जोडिएको मुख्य नालीमा एक्जाभेटरको प्रयोग गरी सरसफाइ गरेको छ। वीरगञ्ज–१३ मुर्लीस्थित सडक किनारको नालीमा समेत श्रमिक खटाएर रातैभर सफाइ कार्य अघि बढाइएको छ।
महानगर प्रमुख राजेशमान सिंहले मनसुनको समयमा डुबानको जोखिम न्यूनीकरणका लागि नाला सफाइ अभियान तीव्र पारिएको जानकारी दिनुभयो। “सरसफाइमा कुनै सम्झौता छैन। ‘वैभव वीरगञ्ज’ अभियानलाई साकार पार्न हामीले नाला सफाइलाई निरन्तरता दिइरहेका छौँ,” उहाँले भन्नुभयो।
ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले वीरगञ्जको सफाइको अवस्थाबारे उल्लेखनीय परिवर्तन आएको बताउनुभयो। “अहिले वीरगञ्जमा आउने पर्यटक तथा सर्वसाधारणले सफाइको अनुभव गर्न थालेका छन्,” उहाँले भन्नुभयो।
महानगरले ठूला नालाहरूमा एक्जाभेटर र ट्रयाक्टर प्रयोग गरिरहेको छ भने टोलटोलका साना नालामा मानव जनशक्तिको प्रयोग गरिँदै आएको छ। सार्वजनिक–निजी साझेदारीअन्तर्गत फोहरमैला व्यवस्थापनको जिम्मा पाएको एनके इन्टरप्राइजेजका सञ्चालक शिव गुप्ताका अनुसार वर्षायाममा डुबान समस्या समाधानका लागि अभियान सुरु गरिएको हो।
स्थानीयवासी नैमाजुदिन अन्सारीका अनुसार सडक बनेको तीन वर्षपछि मात्र नाली सफा गरिएको हो। “नालीमा वर्षौंदेखि फोहोर जमेको थियो। अहिले महानगरले ढकन खोलेर सफाइ सुरु गरेको छ, जुन सराहनीय काम हो,” उहाँले भन्नुभयो।
महानगरको सरसफाइ शाखा प्रमुख सर्फुदिन मियाँका अनुसार नाली सरसफाइलाई नियमित अभियानको रूपमा अगाडि बढाइएको छ। “वर्षायाममा सम्भावित डुबान रोक्न यस अभियानले महत्वपूर्ण भूमिका खेल्नेछ,” उहाँले स्पष्ट पार्नुभयो।

