कञ्चनपुरमा खोरेत सार्ने ‘सेरोटाइप ए’ भाइरस फेला, सावधानी अपनाउनआवश्यक

कञ्चनपुर, ३ असार – कञ्चनपुरका दुई पालिकामा खोरेत रोग फैलाउने ‘सेरोटाइप ए’ भाइरस भेटिएको छ। शुक्लाफाँटा नगरपालिका र लालझाडी गाउँपालिकामा चौपायामा देखिएको लक्षणको परीक्षणपछि खोरेत सार्ने उक्त खतरनाक भाइरस पुष्टि भएको हो।

धनगढीस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक डा. नरेशप्रसाद जोशीका अनुसार तीन वर्षपछि सेरोटाइप ए भाइरस पुनः देखा परेको हो। उनले यो भाइरस विशेषगरी गाई, भैँसी, बाख्रा र सुँगुरमा तीव्र रूपमा फैलिने र गम्भीर असर पार्ने बताएका छन्।

जोशीका अनुसार खोरेत रोग फैलाउने सात प्रकारका भाइरस छन्— सेरोटाइप ए, ओ, सी, सेट–१, सेट–२, सेट–३ र एसिया–१। तीमध्ये सेरोटाइप ओ सामान्य भए पनि सेरोटाइप एलाई सबैभन्दा खतरनाक मानिन्छ। यसले चौपायाको खुट्टा, मुख, थुतुनो र थुनमा दाग, फोका र घाउ बनाउने मात्र होइन, ज्वरो, ¥याल बग्ने, गर्भ तुहाउने र साना पाडापाडी मर्ने सम्भावना पनि बढाउँछ।

“यो भाइरस तीव्र रुपमा संक्रमण गराउने र स्वरूप परिवर्तन गर्ने क्षमता राख्दछ,” जोशीले भने, “दूध उत्पादन घट्नुका साथै पशुको तौल, प्रजनन क्षमता र समग्र स्वास्थ्यमा समेत नकारात्मक असर पर्छ।” भाइरसको पुष्टि भइसके पनि थप यकिन गर्न नमुना पिसिआर परीक्षणका लागि चपलीस्थित सीमाविहीन पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पठाइएको जनाइएको छ।

रोग नियन्त्रणका लागि संक्रमित पशु छुट्याउने, ओसारपसार रोक्ने, सरसफाइमा ध्यान दिने र नियमित एफएमडी खोप लगाउने उपायहरू अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन्। एफएमडी खोप हरेक ६ देखि १२ महिनामा एकपटक लगाउनुपर्ने बताइएको छ।

शुक्लाफाँटा नगरपालिकाका पशु विकास शाखा प्रमुख रामप्रसाद भट्टका अनुसार संक्रमित क्षेत्र वरिपरिका चौपायालाई लक्षित गरी खोप अभियान सञ्चालन गरिएको छ। “पशु प्राविधिकलाई घरदैलोमा खटाएर निःशुल्क खोप लगाइँदैछ,” उनले जानकारी दिए। प्रदेश तथा स्थानीय तहको समन्वयमा रोग नियन्त्रण अभियान तीव्र रूपमा अगाडि बढाइएको जनाइएको छ।

Facebook Comments Box