वर्षायाममा पनि मेलम्चीको पानी काठमाडौँमा नियमित रूपमा वितरण हुने

सिन्धुपाल्चोक, ३ असार – खानेपानी मन्त्री प्रदीप यादवले यस वर्षको वर्षायाममा मेलम्चीको पानी नियमित रूपमा काठमाडौँका घरघरमा आपूर्ति हुने बताउनुभएको छ।सोमबार मेलम्चीस्थित रिबर्मा खोलामा निर्माण गरिएको खानेपानी ट्याङ्कीको स्थलगत निरीक्षणपछि मन्त्री यादवले वर्षातका बेला पनि उपत्यकावासीलाई स्वच्छ पानीको निरन्तर आपूर्ति सुनिश्चित गरिएको जानकारी दिनुभयो।

उहाँका अनुसार, वर्षायामका जोखिमलाई ध्यानमा राख्दै मेलम्ची सुरुङमार्गमार्फत वैकल्पिक रूपमा रिबर्मा खोलाको पानी काठमाडौँमा आपूर्ति गर्ने व्यवस्था मिलाइएको छ। “रिबर्मा खोलामा निर्माण गरिएको खानेपानी ट्याङ्कीको सफल परीक्षण भइसकेको छ,” मन्त्री यादवले भन्नुभयो, “अब वर्षामा पनि मेलम्चीको पानी आपूर्ति नियमित हुनेछ।”

उहाँले यो व्यवस्थाले उपत्यकाको दीर्घकालीन खानेपानी समस्यामा ठोस समाधान ल्याउने अपेक्षा गरिएको बताउनुभयो। “अब नागरिकले वर्षायाममा पानीको समस्या भोग्नु पर्ने छैन,” उहाँले भन्नुभयो, “हामी जनताको प्राथमिकता बुझेर जिम्मेवारीपूर्वक काम गरिरहेका छौँ।”

त्यसैगरी, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तथा इञ्जिनियर रत्नप्रसाद लामिछानेले हाल रिबर्माबाट दैनिक पाँचदेखि सात करोड लिटर पानी सुरुङमार्ग हुँदै काठमाडौँ पथान्तरण गर्न सकिने सम्भावना रहेको जानकारी दिनुभयो। आवश्यक सम्पूर्ण पूर्वाधार तयार भइसकेको र सफल परीक्षणसमेत भइसकेको उहाँको भनाइ छ।

विगतमा वर्षा र बाढीका कारण मेलम्ची सुरुङ बन्द गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै, यसपालि भने प्रविधि र पूर्वतयारीमा विशेष ध्यान दिइएको बताइएको छ। मेलम्ची आयोजनामा प्राविधिक, सुरक्षाकर्मी र आपूर्ति टोलीहरू २४ सै घण्टा खटिएका छन्। बाढी, पहिरो तथा अन्य विपद् जोखिमलाई मध्यनजर गर्दै सुरुङ र वितरण प्रणालीको मर्मत तथा सुरक्षालाई सुदृढ बनाइएको छ। गौरतलब छ, वि.सं. २०७८ को बाढीले मेलम्चीको मुहानमा ठूलो क्षति पुर्‍याएपछि वर्षायाममा नियमित खानेपानी आपूर्तिमा समस्या हुँदै आएको थियो।

Facebook Comments Box