हिमचितुवा घिमिरे ‘के वान सुपर वेल्टरवेट सुपर फाइट’ मा भिड्दै
काठमाडौँ, २१ जेठ – अन्तरराष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘के वान सुपर वेल्टरवेट सुपर फाइट’ प्रतियोगितामा भिड्ने भएका छन् । आगामी साउन १७ गते शनिवार जापानको फुकुओका शहरमा आयोजना हुने सो प्रतियोगितामा उहाँ जापानका व्यवसायिक किक बक्सर हिरोमी वाजिमासँग रिङ्मा उत्रदैछन् । वाजिमा पनि के वान के बक्सिङ् प्रतिष्पर्धामा भिडन्त गरिसकेका अनुभवी खेलाडी हुनुहुन्छ ।
आज सामाजिक सञ्चालमा के वान क्लवले ‘के वान सुपर वेल्टरवेट सुपर फाइट’ प्रतियोगितामा बक्सरद्वय घिमिरे र वाजिमा बीचमा भिडन्त हुने जनाएको छ । ‘हिमालयन चितुवा उपाधि’ले विश्व प्रसिद्ध घिमिरेले गत चैतमा जापानको टोकियो शहरमा सम्पन्न ‘के वान फेस्टिवल २०२१ ’ प्रतियोगिताको उपाधि चुम्ने कम उमेरका पहिलो नेपाली बक्सर बन्ने सौभाग्य प्राप्त गर्नुभएको थियो । उहाँले जापानी व्यवसायिक बक्सर खोतेचुलाई पहिलो राउण्डमा नै ढालेर नयाँ इतिहास कायम गर्नुभएको थियो । यसैगरी घिमिरेले गत वर्ष नै ‘प्रोफेसनल किक बक्सिङ हिट ४८’ मा जापानी खेलाडी योसिदा यइजी माथि सहज जित हात पार्नुभएको थियो ।
अन्तरराष्ट्रिय बक्सिङ खेलाडी एवं प्रशिक्षक देवकुमार घिमिरेका सुपुत्र अविरलले कोरोना कहरमा बीचमा सो प्रतियागिताका लागि पिताकै विशेष प्रशिक्षणमा तयारी थाल्नुभएको जनाइएको छ । उहाँले आज सामाजिक सञ्जाल मार्फत् प्रतियोगिताको आवश्यक तयारी शुरुआत भएको जनाउनुभएको छ । प्रशिक्षक देवले पनि सामाजिक सञ्जालमा भन्नुभएको छ “ युवा बक्सर अविरलले पछिल्लो समय बक्सिङ्मा नयाँ उचाइ हासिल गर्नुभएको छ । के वान सुपर वेल्टरवेट सुपर फाइट’ चुम्नेमा म विश्वस्त छु । यो प्रतियोगितमा छनौट हुुनु आफैमा प्रतिष्ठाको विषय हो । ” के वान बक्सिङ प्रतियोगितामा विश्वका चर्चित बक्सरलाई मात्र रिङभित्र उतारिने गरिन्छ । रोमाञ्जकारी भिडन्त हेर्ने अग्रीम टिकट लिनुपर्छ ।

