पाँचथरमा ग्रिनेट विस्फोट हुँदा एकैघरका दुईजना बालबालिकाको मृत्यु, दुईजना घाइते
पाँचथर, १४ भदौ – पाँचथरमा ग्रिनेट विस्फोट हुँदा एकैघरका दुईजना बालबालिकाको मृत्यु भएको छ। अन्य दुईजना घाइते भएका छन्। फालेलुङ गाउँपालिका वडा नम्बर- ५ डाँडागाउँमा बिहीबार दिउँसो ग्रिनेट विस्फोट हुँदा दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी हेमन्त भण्डारीले जानकारी दिए।
‘स्थानीय आइतराज केरुङको घर नजिकै आँगनमा बिहीबार दिउँसो शंकास्पद बस्तु विस्फोट हुँदा चारजना बालबालिका घाइते भएका थिए,’ डीएसपी भण्डारीले भने, ‘घाइतेमध्ये एकै घरका दुई बालिबालिकाको उपचारको क्रममा मृत्यु भएको छ। अर्को घरका दुईजना बालबालिकाको उपचार भइरहेको छ।’
सोही ठाउँका दिलिप साँवाका २ वर्षीया छोरी प्रिन्सा र ११ वर्षीय छोरा दिपशनको विस्फोटमा परेर मृत्यु भएको हो। विस्फोटमा परेर गम्भीर घाइते भएका उनीहरुलाई उपचारको लागि झापाको बीएण्डसीअस्पताल लैजाँदै गर्दा गएराति बाटोमै मृत्यु भएको डीएपी भण्डारीले बताए।
घाइते बालबालिकालाई जिल्ला अस्पताल पाँचथरमा उपचार हुन नसकेर थप उपचारको लागि बीएण्डसी अस्पताल लगिएको थियो। विस्फोटमा परेर स्थानीय ज्ञानबहादुर राईका छोरा ११ वर्षीय पबन राई र ७ वर्षीय दिपशन राई घाइते छन्। घाइतेमध्ये पवनको जिल्ला अस्पताल फिदिममा उपचार भइरहेको छ। दिपशनको स्थानीय स्वास्थ्य चौकीमै उपचार गरिएको छ। ‘उनीहरु खतरा मुक्त छन्,’ डीएसपी भण्डारीले भने।
प्रहरीले ‘होममेड ग्रिनेट’ विस्फोट हुँदा उनीहरुको मृत्यु भएको अनुमान गरेको छ। तर नेपाली सेनाको टोलीले त्यसको पुष्टि गर्न बाँकी रहेको प्रहरीले जनाएको छ। ‘नेपाली सेनाको टोली घटनास्थलतिर जाँदैछ। त्यो ठाउँमा अभै केही विस्फोटक पदार्थ भेटिएको छ,’ डीएसपी भण्डारीले भने। त्यो विस्फोटक पदार्थ त्यहाँ कसले र किन राखेको थियो, खुल्न बाँकी रहेको जानकारी दिए। उनले घटनाको अनुसन्धान सुरु गरिएको बताए।

