जारी तनावबीच बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर भारततर्फ
काठमाडौँ, २१ साउन – राजधानी ढाकामा जारी तनावबीच बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले हसिनाले राजीनामा दिएको र भारततर्फ गएको लेखेको छ ।
उनी हेलिकप्टरमार्फत भारतको त्रिपुरा राज्यको अगरतलातिर गएको भनिएको छ । प्रदर्शनका क्रममा हजारौं नागरिक प्रधानमन्त्रीको निवासतर्फ गएपछि उनी ‘सुरक्षित स्थान’तर्फ सरेकी थिइन् ।
बीबीसी बंगला सेवाका अनुसार, यसअघि उनले भिडियो सन्देश जारी गर्न खोजेकी थिइन् । तर, सम्भव भएन । बंगलादेशी सेनाका प्रमुख जनरल वाकर जमानले सबै राजनीतिक दलका नेताहरुसँग अहिलेको अवस्थाबारे छलफल गर्दैछन् ।
त्यसपछि सेना प्रमुखले अपराह्न राष्ट्रलाई सम्बोधन गर्ने तयारी समेत छ । आरक्षण र कोटा प्रणालीको विरोधमा विद्यार्थीले गरेको आन्दोलन हिंसात्मक बन्दा ज्यान गुमाउनेको संख्या कम्तीमा ३ सय पुगिसकेको छ ।
प्रहरी र प्रदर्शनकारी बीच झडप हुँदा आइतबार मात्रै कम्तीमा ९० जना मारिएको र सयौं घाइते भएको बीबीसीले लेखेको छ । प्रधानमन्त्री हसिनाले सुरक्षा निकायका प्रमुखहरुसँग छलफलपछि आइतबार हसिनाले आन्दोलनकारीहरु ‘विद्यार्थी नभई देशमा अस्थिरता चाहने आतंकवादी भएको’ बताएको प्रतिक्रिया दिएकी थिइन् । तनावका कारण बंगलादेशमा सोमबार देशभर इन्टरनेट सेवा समेत अबरुद्ध छ ।

