फागुन १ को कार्यक्रम गर्न प्रसाईंले पाएनन् टुँडीखेल

काठमाडौं , २९ माघ – दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ अभियानले फागुन १ गते पहिलो वार्षिकोत्सव काठमाडौंमा मनाउने तयारी गरिरहेको छ। शक्ति प्रदर्शनका लागि देशभरिबाट समर्थक उतार्ने अभियानले जनाएको छ। कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई समेत उपस्थित गराउने प्रयासमा प्रसाईं लागेका छन्। यसका लागि अभियानको उपत्यका समितिले नागरिक अभिनन्दनसमेत गर्ने भनेको छ।

तर कार्यक्रम कहाँ गर्ने भन्नेचाहिँ अझै टुंगो लागेको छैन। प्रसाईंले काठमाडौंको टुँडीखेल मागेका थिए। अभियानको केन्द्रीय कार्यालयले पुस २१ गते काठमाडौं जिल्ला प्रशासन कार्यालयलाई अनुरोध पत्र पठाएको थियो। तर, अहिलेसम्म प्रशासनले कुनै पनि स्थानमा कार्यक्रमका लागि अनुमति नपाएको अभियानका अध्यक्षमण्डलका सदस्य हरि कार्कीले बताए।

‘पुस २१ गते नै प्रशासन कार्यालयमा पत्र पठाएर फागुन १ गतेको लागि आमसभा गर्न स्थान मागेकोमा हामीलाई टुँडिखेलमा कार्यक्रम गर्नुहोस् भनेर सीडीओले पटकपटक भन्नुभएको हो,’ कार्कीले भने, ‘तर आज आएर टुँडिखेलमा हुन्न, तपाईंहरू भृकुटीमण्डपमा कार्यक्रम गर्नुहोस् भनिँदै छ।

भृकुटीमण्डपमा चिनियाँहरूलाई कार्यक्रम गर्न स्थान उपलब्ध गराएका छन्। चिनियाँले कार्यक्रम गर्न स्थान पाउँछन् तर हामी नेपालीले आफ्नै देशमा सभा गर्ने ठाउँसम्म पाउँदैनौँ। यो त अति भएन र?’ गत मंसिर ७ मा प्रसाईंले बल्खु चोकमा कार्यक्रम गरेका थिए। भोलिपल्टबाट उनको प्रदर्शन तीनकुने हुँदै गौशाला पुगेको थियो।

Facebook Comments Box