आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यस वर्ष अहिलेसम्मकै कम
काठमाडौँ, २७ मङ्सिर – आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यस वर्ष अहिलेसम्मकै कम भएको छ। मौसमविद्का अनुसार न्यूनतम तापक्रम कम हुँदा बिहान कठ्यांग्रिँदो चिसो हुन्छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस देखिएको हो। ‘यो काठमाडौँ उपत्यकाका लागि यस वर्ष अहिलेसम्मकै कम न्यूनतम तापक्रम हो’, उनले भने। यसअघि उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियसम्म पुगेको थियो।
आज त्यसभन्दा पनि तल झरेको हो। आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रमचाहिँ १७ देखि १९ डिग्री सेल्सियससम्म हुने अनुमान गरिएको जानकारी पनि मौसमविद् पुडासैनीले दिए। न्यूनतम तापक्रम बिहान ८:४५ बजे तथा अधिकत तापक्रम साँझ ५:४५ बजे लिइन्छ। उनका अनुसार काठमाडौँ उपत्यकाको मौसम आंशिक बदली भएको छ। ‘आज उपत्यकाको मौसम दिनभर आंशिक बदली नै रहने अनुमान गरिएको छ’, मौसमविद् पुडासैनीले भने।

