गोलबजारको एक माविका प्रधानाध्यापकको शंकास्पद मृत्युलाई लिएर शिक्षकहरु आन्दोलित

सिरहा, २१ कात्तिक – सिरहा गोलबजारको एक माविका प्रधानाध्यापकको शंकास्पद मृत्युलाई लिएर शिक्षकहरु आन्दोलित भएका छन्। गोलबजार नगरपालिका ३ तेतरियास्थित सरस्वती माविका प्रधानाध्यापक संजिवकुमार साह गएको आइतबार आफ्नै विद्यालयको कक्षा कोठामा मृत फेला परेका थिए। प्रहरीले साहको मृत्युलाई आत्महत्या भनेको छ।

तर, शिक्षकहरुसँग सम्बन्धित सम्बन्धित विभिन्न संघ संगठनहरुले भने प्रधानाध्यापक साहको मृत्युलाई शंकास्पद भन्दै घटनाको छानविन गर्न माग गरेका छन्। साहको मृत्युको सत्यतथ्य छानविन गर्न माग गर्दै जिल्लामा क्रियाशील शिक्षक संघ संगठनहरुले सोमबार गोलबजारस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्दै प्रदर्शनसमेत गरेका छन्।

सिरहाको मिर्चैया घर भएका प्रधानाध्यापक साह आइतबार बिहान आफ्नै विद्यालयको कार्यालय भवनको तेस्रो तल्लामा पासो लागेको अवस्थामा मृत भेटिएका थिए। उनको शव पोष्ट मार्टमको लागि काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा ल्याइएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाले घटनाको प्रकृति र प्रारम्भिक अनुसन्धानले शिक्षक साहले आत्महत्या गरेको अनुमान गरेको छ।

तर, परिवारका सदस्य र शिक्षक संगठनहरुले भने उनको हत्या भएको आशंका गर्दै सत्यतथ्य छानविन गर्न माग गरेका छन्। विभिन्न शिक्षक संगठनले घटनाको विरोधमा सोमबार गोलबजार नगरपालिका क्षेत्रका सम्पूर्ण विद्यालय बन्द गरेका थिए। उनीहरुले आज (मंगलबार)देखि सिरहा जिल्लाभरिका विद्यालय अनिश्चित कालको लागि बन्द गर्ने घोषणा गरेका छन्।

विभिन्न शिक्षक संघ संगठनहरुले घटनाको सत्यतथ्य छानविन गर्नुपर्ने, मृतक शिक्षककी पत्नीलाई योग्यता अनुसारको रोजगारी, बालबालिकाहरुको पठनपाठनको उचित प्रबन्ध, विद्यालय परिसरमा स्वर्गीय शिक्षक साहका शालिक निर्माण, शान्ति सुरक्षाको प्रत्याभूति हुनुपर्ने, विद्यालयमा राजनीतिक हस्तक्षेप बन्द गरिनु पर्ने, शिक्षक साहलाई सहिद घोषणा गर्नुपर्ने लगायतका माग अघि सारेका छन्।

Facebook Comments Box