विधान मिचेर देउवाले गरे ५ केन्द्रीय सदस्य मनोनीत
काठमाडौं, ८ असोज – नेपाली कांग्रेसको विधानको दफा ५९ ले भन्छ, ‘पार्टीको कुनै तहको अधिवेशनमा उम्मेदवार भई पराजित भएको व्यक्ति सोही अधिवेशनको अवधिमा सोभन्दा माथिल्लो वा तल्लो तहको कुनै पनि पदमा उम्मेदवार हुन पाउने छैन ।’
विधानको यसै धारालाई सभापति शेरबहादुर देउवाले उल्लंघन गरेर केन्द्रीय सदस्य मनोनीत गरेको भन्दै कांग्रेसमा असन्तुष्टि बढेको छ । गत महाधिवेशनमा तल्लो तहमा पराजितलाई सभापति देउवाले केन्द्रीय समितिमा मनोनीत गरेको संस्थापनइतरको दाबी छ । अर्जुनप्रसाद जोशी, भरत शाह, किरणराज शर्मा पौडेल, लक्ष्मी खतिवडा र गीता शाहीलाई केन्द्रीय सदस्य बनाएको विधिप्रति प्रश्न उठेको छ ।
सभापति देउवाले ४ असोजमा जोशी, शाह, पौडेलसहित आठ जनालाई केन्द्रीय समितिमा मनोनित गरेका थिए । जोशी गण्डकी प्रदेशमा र शाह लुम्बिनीमा प्रदेशमा सभापतिमा पराजित भएका थिए । पौडेल बागलुङमा महाधिवेशन प्रतिनिधिमा पराजित भएका थिए ।
खतिवडा र शाही सहित १० जनालाई सभापति देउवाले २०७९ साउन ३१ मा केन्द्रीय सदस्यमा मनोनित गरेका थिए । खतिवडा सुनसरी-१ को क्षेत्रीय सभापतिमा पराजित भएकी थिइन् । शाही लुम्बिनी प्रदेश समितिको सदस्यमा पराजित व्यक्ति हुन् ।
कांग्रेसको विधान अनुसार प्रमुख प्रतिस्पर्धी बनेर पराजित उम्मेदवार व्यक्ति उक्त समितिको स्वतः सदस्य बन्ने व्यवस्था छ । कांग्रेसको विधानको धारा ६५ अनुसार ‘पार्टीको सबै तहको कार्यसमितिको सभापति पदको निर्वाचनमा निर्वाचित सभापतिपछि दोस्रो बढी मत प्राप्त गर्ने व्यक्ति सम्बन्धित कार्यसमितिको सदस्य हुने’ उल्लेख छ ।
विधानको यही व्यवस्था अनुसार मनोनित केन्द्रीय सदस्य बनेका जोशी गण्डकीमा, शाह लुम्बिनीको प्रदेश समितिमा र खतिवडा सुनसरी-१ को समितिमा स्वतः सदस्य छन् । जोशीलाई शुक्रराज शर्माले र शाहलाई अमरसिंह पुनले प्रदेश सभापतिमा हराएका थिए । शर्मा र शाह संस्थापनइतरका हुन् । खतिवडा पनि संस्थापनइतरका उम्मेदवारसँग पराजित भएकी हुन् ।
निकततम प्रतिद्वन्द्वी स्वतः उक्त कार्यसमितिको सदस्य हुने व्यवस्थालाई सभापतिले कुल्चिएको लुम्बिनीका प्रदेश सभापति पुनले बताए । ‘प्रदेश समितिमा मसँग सभपतिमा हारेका र प्रदेश सदस्यमा हारेकालाई केन्द्रीय सदस्य बनाइएको छ,’ लुम्बिनी प्रदेश सभापति पुन भन्छन् ।

