सन्दीप लामिछानेविरुद्ध आजै आदेश आउने सम्भावना

काठमाडौं, २० भदौ – क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा दर्ता बलात्कार मुद्दाको पेसी आजका लागि तोकिएको छ। आज मुद्दाको अन्तिम सुनुवाइ हुन लागेको हो। यही भदौ १० गते उक्त मुद्दा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो। त्यसपछि आजका लागि पेसी तोकिएको हो।

अन्तिम बहस सकिएमा आजै आदेश आउने सम्भावना छ। सन्दीपले १७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोग छ। ती किशोरीले एक होटलमा लगेर आफूलाई सन्दीपले पटक–पटक बलात्कार गरेको भनी गत वर्ष भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।

उक्त मुद्दामा यसअघि थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। तर उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि उनी रिहा भए। यसपछि सर्वोच्च अदालतले उनलाई विदेश जान लगाइएको प्रतिबन्ध पनि हटाउन आदेश दियो।

Facebook Comments Box