पारस खड्का प्रादेशिक क्रिकेट संघ, बागमतीको अध्यक्षमा निर्वाचित
काठमाडौँ, १५ भदौ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का प्रादेशिक क्रिकेट संघ, बागमतीको अध्यक्ष निर्वाचित भएका छन्। शुक्रबार ललितपुरको धोबिघाटस्थित एक होटलमा भएको निर्वाचनमा खड्का २३ मतसहित विजयी भएका हुन्।
पारससँग चितवन जिल्ला क्रिकेट संघका प्रतिनिधि उमेश पियाले पनि अध्यक्षका लागि प्रतिस्पर्धा गरेका थिए। बागमती प्रदेश अध्यक्षका लागि भएको निर्वाचनमा खसेको कूल ३७ मतमध्ये खड्काले २३ मत प्राप्त गरे।
बागमतीको उपाध्यक्षमा प्रेम क्षत्री, सचिवमा ललितपुरका प्रशन्न शाक्य, कोषाध्यक्षमा भक्तपुरका सञ्जय बस्नेतसहित सबै खड्काको प्यानलै विजयी भएका हुन्।
बागमती प्रदेशका सदस्यता मान्यता प्राप्त काठमाडौं, भक्तपुर, ललितपुर र मकवानपुरले पारसलाई समर्थन गरेका थिए। चितवन र नुवाकोट भने पारसको विपक्षमा चुनावी मैदानमा थिए। नेपाल क्रिकेट संघ (क्यान)को नेतृत्व गर्ने लक्ष्यसहित पारसले राष्ट्रिय क्रिकेट टोलीबाट राजीनामा दिएका थिए।
बागमती प्रदेश अध्यक्ष जितेपछि अब उनी क्यानको केन्द्रीय सचिवमा पनि लड्ने योजनामा छन्। उनी काठमाडौं जिल्लाको सदस्य बन्दै प्रदेशको चुनाव लड्न प्रतिनिधि बनेका थिए। अब प्रदेश पनि जित्दै क्यानकै सचिव बन्ने लक्ष्यमा रहेको उनी निकटस्थ बताउँछन्।

