नेपाल एयरलाइन्सले साउदीको दमाममा उडान थाल्ने, खुल्यो बुकिङ

काठमाडौं, २ भदौ – राष्ट्यि ध्वजाबाहक नेपाल एयरलाइन्सले आफ्नो ११ औं अन्तर्राष्ट्रिय गन्तव्यका रुपमा साउदी अरेबियाको दमाममा उडानको मिति तय गरेको छ ।

सो गन्तव्यका लागि कम्पनीले शनिबारबाट बुकिङ खुला गरेको नेपाल वायु सेवा निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । उनका अनुसार यहाँ भदौ २० अर्थात ६ सेप्टेम्बरबाट नियमित उडान हुने भएको छ ।

यस रुटमा साताको दुई दिन बुधबार र शनिबार उडान हुने भएको छ । थप माग अनुसार गन्तव्य विस्तार गरिने पौडेलले जानकारी दिए । काठमाडौं-दमाम प्रमोसनल फेयर ३५ हजार रुपैयाँ तोकिएको छ ।

दमाम-काठमाडौंका लागि भने ५९५ साउदी रियाल फेयर तोकिएको छ । साउदी धेरै नेपाली रोजगारीमा जाने गन्तव्य हो । यसले नेपालीहरुको आवतजावतलाई ठूलो राहत पुग्ने पौडेलले बताए ।

Facebook Comments Box