आज सबै प्रदेशमा पानी पर्ने केही प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ, १ साउन – आज सबै प्रदेशमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही प्रदेशमा भारी वर्षाको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन सुझाव दिइएको छ। त्यसो अहिले बिहान पनि गण्डकी प्रदेशका केही तथा कोशी र कर्णाली प्रदेशका एक-दुई स्थानमा वर्षा भइरहेको महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्।
महाशाखाका अनुसार दिउँसो मधेश प्रदेशका थोरै बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस क्रममा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।
यसैबीच दिउँसो काठमाडौं उपत्यकामा पनि क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद् कँडेलले जानकारी दिइन्। यस्तै राति मधेश प्रदेशका एक/दुई, कोशी र बागमती प्रदेशका थोरै तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।
महाशाखाले कोशी, बागमती गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको हुनाले यसबाट सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवनसमेत प्रभावित हुनसक्ने देखिन्छ। तसर्थ भारी वर्षा, मेघगर्जन/चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेकाेछ।

