अविरल वर्षासँगै गए राति आएको बाढीले र पहिराेले पुर्वी पाहाडी क्षेत्रमा ठुलो जनधनको क्षति

काठमाडौं, ३ असार – जिल्लाको हेँवा खोलामा शनिवार राती आएको बाढीले बगाउँदा एक जनाको ज्यान गएको छ । बाढीले बगाएर ल्याएको अवस्थामा पाँचखपन नगरपालिका ५ मा एक शव भेटिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

शवको पहिचान हुन बाँकी रहेको छ । चैनपुर नगरपालिका ४ पेङ्कोट र पाँचखपन नगरपालिका ९ मा गएको पहिरोले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठुलो जनधनको क्षति भएको हो । बाढीले चैनपुर ४ मा निर्माण भइरहेको सुपर हेँवा हाइड्रोमा पुर्णरुपले क्षति पुगेको वाना प्रहरी चौकी प्रमुख टिकाराम राईले जानकारी दिनुभयो ।

उक्त परियोजनामा काम गर्ने १७ मजदुरहरू सम्पर्क विहीन रहेको समेत सई टिकाराम राईले जानकारी दिनुभयो । खोलामा बाढी आएपछि उनीहरू अन्यत्र भागेको वा बाढीमा परेको भनेर यकिन हुन बाँकी रहेको राईले जानकारी दिनुभयो ।बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुल पनि बगाएको छ भने किनार क्षेत्रमा ४ घर बगाएको जिल्ला प्रहरी कार्यालय जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

त्यस्तैगरि अविरल वर्षासँगै गए राति आएको बाढीले पाँचथरमा छ जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार हेवा खोलामा आएको बाढीमा परेर हिलिहाङ ७ का दिलकुमार तामाङ र फिदिम १० का सन्जोग लोवा सहित सहित छ जना बेपत्ता भएको हो ।

बाढीले फिदिम ४ हेवा खोलामा गिटी कुटेर गुजारा चलाउँदै आएका एक, फालेलुङ ३ मा एक र फिदिम ४ माझी टारमा २ गरी ६ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो ।

बाढीले मेची राजमार्ग अन्तरगत पाँचथर र ताप्लेजुङ जाने बाटोमा पर्ने हेँवा खोला पुल बगाएको छ । यस्तै फालेलुङ गाउँपालिकाको लुमाङदिन र घुमाउनेमा दुई वटा मोटरेवल र एउटा झोलुङगे पुल बगाएको प्रहरीले जनाएको छ । यस्तै याङवरक गाउँपालिका ३ र २ मा पनि घर बगाएको छ तर क्षतिको विवरण यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

अबिरल वर्षासँगै आएको बाढीले ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित आङ्खोपमा तीन घर बगाएको छ । गए राति इङ्वाखोलामा आएको बाढीले प्रेम सेलिङ, महेश्वर सेलिङ र गणेश सेलिङको घर बगाएको स्थानीय शिक्षक चैतन्य बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सोही क्षेत्रका डिल्ली सेलिङ, रामबहादुर सेलिङ र मीन बुढाथोकीको घर जोखिममा छन् । वर्षासँगै आएको बाढी बस्तीतर्फ पसेपछि घर छाडेर सुरक्षित क्षेत्रमा सरेकाले मानवीय क्षति भएको छैन । बाढीले इङ्वाखोला जलविद्युत् आयोजनामा समेत क्षति पुगेको छ । खोला किनारको खेतीयोग्य जमिनसमेत बगाएको छ भने केही पशुचौपायासमेत बगाएको जनाइएको छ ।

यसैगरी मैवाखोलामा आएको बाढीले दोभानबजार जोखिममा परेको छ । बाढीले बजार क्षेत्र कटान गरेपछि दुई घर उच्च जोखिममा रहेको स्थानीय प्रदीप पोखरेलले बताउनुभयो । उहाँका अनुसार दीपक धिताल र सुकबहादुर लिम्बूको घर उच्च जोखिममा छन् ।

बाढी सामान्यतया घटे पनि पानीको बहाव घटेको छैन । मध्यरातमा बाढी आएपछि बजारका आधाजसो घरपरिवार अन्तै सरेका छन् । बाढीले मेरिङ्देन गाउँपालिकातर्फ जाने खोला किनारको सडकसमेत बगाएपछि बाटो पूर्णरूपमा अवरुद्ध बनेको बताइएको छ ।

मैवाखोला–२ र ५ नं वडा जोड्ने खार्तेखोलाको झोलुङ्गे पुल बगाएको स्थानीयले बताए । रातभर अत्यधिक वर्षासँगै ठाउँ–ठाउँमा बाढी र पहिरो झरेपछि जिल्लाका अधिकांश गाउँघरका मानिस रातभर नै जाग्राम बस्नुपरेको छ । जिल्लाका सबै ठाउँमा वर्षा भएको थियो । बिहीबार रातिमात्र सिरीजङ्घा गाउँपालिकाको याम्फुदिनमा बाढीले क्षति पुगेको थियो ।

यहाँका पाँचवटा सरकारी कार्यालय स्थानान्तरण गरिएको छ भने १५ घरपरिवार अन्तै सरेर बसेका छन् । यसैबीच मेची राजमार्गअन्तर्गत हिलिहाङ र फिदिम नगरपालिका जोड्ने हेवाखोलामा आएको बाढीले पुल बगाएपछि मेची राजमार्गसमेत पूर्णरूपमा अवरुद्ध भएको जनाइएको छ ।

Facebook Comments Box