५२ करोड खर्चेर बनाइएको नारायणी लिफ्टमा फेरि २६ करोड थपियो तर पानी प्रयोग गर्न नपाउँदा किसानहरु रुष्ट
चितवन, ३२ जेठ – पश्चिम चितवनमा सिंचाइ सुविधा पुर्याउन भनेर २०४० सालमा ५२ करोड लगानीमा निर्माण गरिएको नारायणी लिफ्टलाई आधुनिकीकरण गर्न भन्दै अहिले पुनः २६ करोड रुपैयाँभन्दा बढी खर्च गरिएको छ । तर यसबाट सिंचाइ सुविधा पाउन स्थानीय बन्चित छन् । सिंचाइ सुविधा आवश्यक पर्ने सुक्खायाममै पानी प्रयोग गर्न नपाउँदा किसानहरु रुष्ट छन् ।
अविरल बगिरहने नारायणी नदी किनारमै खेतमा धाँजा फाटेका छन् । अहिलेको जेठको खडेरीमा मकै सुकेका छन् । तरकारी खेती पनि फस्टाउन सकेन । व्यवसायिक पशुपालन गर्ने किसानहरूलाई गाईवस्तुलाई पानी खुवाउनै धौधौ भयो । भूमिगत पानीको सतह घटेपछि कतिपय बोरिङ पनि बन्द भए । यही संकटको बेला नारायणी लिफ्टबाट चितवनवासीले सिंचाइ सुविधा पाएका छैनन् ।
पश्चिम चितवनका जग्गामा सिंचाइ गर्न भनेर २०४० सालमा नारायणी लिफ्ट सिंचाइ आयोजना बनाइएको थियो । नहरसमेत गरेर यसमा ५२ करोड रुपैयाँ खर्च भएको थियो । तर नहरमा बर्खा सुरु भएपछि मात्र पानी बग्छ । लामो समय बन्द हुने गरेकाले नहर नै अतिक्रमणको चेपटामा परेको छ । नहर मिचेर ठाउँ-ठाउँमा बाटो पिच गरिएको छ ।
किसानलाई चाहिएको बेला पानी दिन नसक्ने नारायणी लिफ्टमा अहिले पुराना मेसिनहरु हटाएर नयाँ मेसिनहरू जडान गर्ने काम जारी छ । नारायणी लिफ्ट सिंचाइ प्रणालीको पुनर्स्थापना तथा आधुनिकीकरण कार्यका लागि भन्दै २६ करोड ३२ लाख ४३ हजार १५१ रुपैयाँमा चार वटा स्वचालित मेसिन ल्याइएको छ । यी मेसिनबाट समेत हिउँदमा पानी ल्याउन मिल्ने व्यवस्था भने हुने छैन । टेण्डरबाट ठेक्का पाएको कम्पनीले हालसम्म ११ करोड ९३ लाख ४० हजार रकम भुक्तानी लगिसकेको छ ।
नारायणी लिफ्ट खगेरी सिंचाइ व्यवस्थापन कार्यालय प्रमुख घनश्याम कार्कीका अनुसार अहिले मेकानिकलको अधिकांश काम सकिएको छ । इलेक्टि्रकल लगायतका काम भने बाँकी छन् । तर असार महिनाभित्रै पनि नहर सञ्चालन गर्न सकिनेमा कार्यालयका कर्मचारी नै विश्वस्त छैनन् ।
नयाँ मेसिन जडानको ठेक्का पाएको भारतीय कम्पनी डब्लुपीआईएल लिमिटेड कलकत्ताले नयाँ-नयाँ शर्त राखेर निहुँ खोज्ने गरेको कारण यसपटकको बर्खामा नारायणी लिफ्टमार्फत पानी छाड्न सकिन्छ भन्ने कुरामा विश्वस्त हुने आधार नभएको स्रोतको भनाइ छ ।
कार्यालयका एक कर्मचारीले भने, ‘अहिलेको बर्खामा नारायणी लिफ्टबाट पानी ल्याएर किसानले रोपाइँ गर्न पाउँछन् भन्ने कुरामा मलाई विश्वास छैन, भारतीय कम्पनीको काम गराइको तरिकाले पानी आउने छाँट छैन ।’ ठेक्का म्याद यही असार महिनामा सकिँदै छ ।
बर्खामा आकाशबाट जलथल हुने गरी पानी परेपछि मात्रै चल्ने नारायणी लिफ्टलाई खास पानी चाहिने हिउँदमा किन चलाउन सकिँदैन भन्ने प्रश्नमा नारायणी लिफ्टका प्रमुख कार्की संरचनागत सुधारको खाँचो रहेको बताउँछन् । नारायणी लिफ्टको संरचना बनेको ठाउँभन्दा धेरै तल नदी भएकाले हिउँदमा पानी तान्न नसकिने कार्यालय प्रमुख कार्कीको तर्क छ । बर्खामा नारायणी नदीको सतह बढ्दा मात्रै लिफ्टसँगको लेभल मिल्ने भएकाले पानी तान्न सकिने उनको भनाइ छ । वर्षायाममा पनि ३ महिना मात्रै नहरमा पानी आउँछ ।

